प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा शुभकामना सन्देश जारी
काठमाडौँ — फागुन २४।
प्रधानमन्त्री केपी ओलीले राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गरेका छन्। १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा शुभकामना सन्देश दिँदै उनले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्व बढेको बताए ।
'महिलाको कूल साक्षरता दरमा वृद्धि, मातृ मृत्युदरमा सुधार तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन्।' प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, 'पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिएका छन्।'
प्रधानमन्त्री ओलीले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
...









