शेखर कोइराला

काठमाडौँ —फागुन २३।

कांग्रेस नेता शेखर कोइराला एक वर्षयता ४५ जिल्ला डुलिसकेका छन् । उनको राजनीतिक कार्यक्रम र कार्यकर्ता भेटघाटको यो ‘म्याराथन’ अझै रोकिएको छैन । बढ्दो छ । पार्टीको १३ औं महाधिवेशनदेखि नै जिल्ला दौड थालेका उनी त्यसयता ७१ जिल्लामा पुगिसकेका छन् । अब कर्णालीका मुगु, हुम्ला, डोल्पा र सुदूरपश्चिमका बझाङ, दार्चुला र बाजुरामात्रै पुग्न बाँकी छ ।

१४ औं महाधिवेशन र नेतृत्व विषयले चर्चा पाइराख्दा उनको जिल्ला दौड ह्वात्तै बढेको हो। हालै तराईको भ्रमण सकेर राजधानी फर्केका शेखर दुई/चार दिनको बसाइँपछि करिब डेढ महिनाको भ्रमण तालिका बनाइरहेका छन्।

नियमित समयमै भए अर्को वर्षको फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्नेछ। पार्टी विधानले थप एकवर्ष र संविधानले डेढवर्षसम्म थप्न सक्ने व्यवस्था गरेको छ।

१४ औं महाधिवेशनमै सभापतिमा प्रतिस्पर्धा गर्ने उनको योजना छ। त्यसैका लागि दौडधुप थालेका हुन्। नेतृत्व लिन कार्यकर्तामाझबाटै आफूलाई स्थापित गराउने प्रयत्नमा शेखर खटिएका हुन्।

शेखरका लागि आन्तरिक गुट व्यवस्थापन पहिलो पर्खाल बनेको छ। दक्षिण छिमेकी भारतको आशीर्वाद मिलाउन सके नेतृत्वका लागि सहज हुने बुझाइ पनि कतिपय नेताको छ। ‘पार्टीमा जुनियर र सिनियरको दूरी पनि छ। कार्यकर्ता पंक्तिबाटै त्यसलाई मेटाएर आफूलाई स्थापित गराउने र अरू फ्याक्टरलाई पनि सँगै मिलाउँदै जाने प्रयत्नमा शेखर देखिन्छन्,’ उनको अभियानलाई नजिकबाट नियालिरहेका पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘भित्रभित्रै नेतृत्वका लागि उनी धेरै अघि बढिसकेको देखिन्छ।’

२०४६ यता २० वर्षसम्म पार्टी नेतृत्व कोइराला परिवारले चलाएको थियो। त्यसअघिका अधिकांश कालखण्ड पनि कोइरालाकै नेतृत्वमा पार्टी चल्दै आएको हो। नेतृत्व तीन वर्षअघि देउवामा सरेको थियो। १४ औं महाधिवेशनबाट कोइराला परिवारमै नेतृत्व फर्काउने कसरत सुरु भएको छ, जुन बेलाबखत तीन कोइराला (शशांक, शेखर र सुजाता) सदस्यको जमघटले पनि संकेत दिएको छ।

पार्टीको नेतृत्व तहमा कोइराला परिवारका तीन सदस्य छन्। शेखर नोनाका छोरा हुन्। शंशाक बीपी पुत्र र सुजाता गिरिजापुत्री हुन्। स्वास्थ्यका कारण सुजाता पार्टीमा क्रियाशील छैनन्। महामन्त्री शशांक बीपीको ‘लिगेसी’ बाट उदाएका हुन्। पार्टीमा शशांकभन्दा शेखरको खटाई बढी छ। तर, शेखरका लागि शशांक व्यवस्थापन गर्ने पहिलो चुनौती छ। त्यस्तै चुनौती शशांकका लागि पनि छ।

शशांकले पनि १४ औं महाधिवेशनमा सभापति उम्मेदवार हुने बताइसकेका छन्। संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह पनि नेतृत्वका आकांक्षी हुन्। उनीहरूको व्यवस्थापन शेखरका लागि फलामको चिउरा छ।

‘जिल्लामा आउँदा धेरै साथीभाइले तपाईं आउनुपर्‍यो भन्नुहुन्छ,’ नेतृत्वबारेको प्रश्नमा शेखरले भने, ‘मजस्तै अरू साथीहरू पनि हुनुहुन्छ। सबै साथीसँग कुरा बुझौं भनेर मात्रै आएको हो भनेर जवाफ दिने गरेको छु।’

शेखर उमेरको बन्धनमा पनि छन्। अहिले उनी ६९ वर्षमा प्रवेश गरेका छन्। दुई वर्षपछि महाधिवेशन भए ७१ वर्षका हुनेछन्। त्यसपछिका महाधिवेशनमा झनै कठिनाइ हुने उनले देखेका छन्। पार्टीमा खटिएरै नेतृत्वमा पुग्न सकिन्छ भन्ने सूत्र गिरिजाप्रसादकै हो। त्यसैको प्रभाव शेखरमा परेको देखिन्छ। उनी यसलाई स्वीकार्छन्।

कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार कोइराला परिवारको ‘लिगेसी’ भन्दा पनि आफ्नै क्रियाशीलताका कारण शेखर राजनीतिमा परिपक्व र स्थापित हुँदै गएका छन्। ‘लिगेसीकै हिसाब गर्ने हो भने उनको हकमा २० प्रतिशत लागू होला, ८० प्रतिशत त मेहनतबाटै स्थापित भएका हुन्,’ घिमिरे भन्छन्, ‘शशांक भने बीपीको लिगेसीबाटै उदाएका हुन्, त्यसको लाभ कोइराला परिवारमा उनैलाई बढी छ।’

शेखरको पछिल्लो खटाई तराई-मधेस लक्षित बढी छ। पार्टीका मतदाता पनि यिनै जिल्लामा बढी छन्। मधेसका अधिकांश जिल्ला उनी दोहोर्‍याई-तेहेर्‍याई पुगिसकेका छन्। नेतृत्वमा कसलाई पुर्‍याउने/नपुर्‍याउने भन्ने निर्णायक मतदाता बन्न सक्ने भएकाले उनी बारम्बार मधेस पुग्छन्।

जिल्ला जाँदा उनको प्राथमिकता महासमिति र महाधिवेशन प्रतिनिधि हुन्छन्। उनीहरूलाई आफैं खबर गर्छन्। सँगै बसेर अन्तक्रिया गर्छन्। ‘कोइराला परिवारबाट जो भए पनि एउटै पदमा दुई जना भिड्ने काम हुन्न,’ शशांकका सहयोगी भरत तिवारीले भने, ‘दुईमध्ये को भन्ने टुंगो लागिसकेको छैन। महाधिवेशन मिति टुंगो लागेपछि मात्रै छलफल होला।’

नेतृत्वका लागि मात्रै नभएर पार्टी संगठनका निम्ति पनि आफ्नो जिल्ला भ्रमण केन्द्रित रहेको शेखरले बताए। ‘कार्यकर्तासँग भेट्ने, दुःखसुखका कुरा गर्ने, दुःख परेका ठाउँमा गइदिने गरे मात्रै पनि आधा संगठन बन्छ,’ उनले भने।

(कान्तिपुर दैनिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here