साढे ६ महिनापछि सुटिङमा फर्किए सलमान खान
असोज २३ मुम्बई । बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधेः योर मस्ट वान्टेड भाइ’ को छायांकन पुनः सुरु भएको छ । सलमानले सामाजिक सञ्जालमार्फत चलचित्रको सुटिङ सुरु भएको जानकारी दिएका छन् । कोरोनाका कारण मार्चमा लगाइएको बन्दाबन्दीको घोषणासँगै चलचित्रको छायांकन रोकिएको थियो । प्रभु देवाको निर्देशनमा बनिरहेको यो चलचित्रको सुटिङको ६ साढे महिनापछि सुरु गरिएको हो ।
अभिनेता सलमानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा चलचित्र सेटको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरसँगै उनले लेखेका छन्, ‘साढे ६ महिनापछि सुटिङमा फर्किएको छु ।’ अर्को वर्षको २२ मेमा रिलिज हुने तयारीमा रहेको यस चलचित्रमा सलमानसँगै अभिनेत्री दिशा पटानीको अभिनय रहेको छ । सलमानसँग दिशाले यसअघि चलचित्र ‘भारत’ मा काम गरिसकेकी छन् । चलचित्रका दुईवटा गीतको सुटिङ र लगभग पाँच दिनको काम अझै बाँकी भएको निर्माण पक्षले जनाएको छ ।
...









