असोज २३ मुम्बई । बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधेः योर मस्ट वान्टेड भाइ’ को छायांकन पुनः सुरु भएको छ । सलमानले सामाजिक सञ्जालमार्फत चलचित्रको सुटिङ सुरु भएको जानकारी दिएका छन् । कोरोनाका कारण मार्चमा लगाइएको बन्दाबन्दीको घोषणासँगै चलचित्रको छायांकन रोकिएको थियो । प्रभु देवाको निर्देशनमा बनिरहेको यो चलचित्रको सुटिङको ६ साढे महिनापछि सुरु गरिएको हो ।
अभिनेता सलमानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा चलचित्र सेटको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरसँगै उनले लेखेका छन्, ‘साढे ६ महिनापछि सुटिङमा फर्किएको छु ।’ अर्को वर्षको २२ मेमा रिलिज हुने तयारीमा रहेको यस चलचित्रमा सलमानसँगै अभिनेत्री दिशा पटानीको अभिनय रहेको छ । सलमानसँग दिशाले यसअघि चलचित्र ‘भारत’ मा काम गरिसकेकी छन् । चलचित्रका दुईवटा गीतको सुटिङ र लगभग पाँच दिनको काम अझै बाँकी भएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको टिमले कोरोना कहरको समयमा सावधानी अपनाउँदै यात्राबाट बच्नका लागि स्टुडियो नजिकैको एउटा होटल बुक गरेको छ । सुरक्षाको हिसाबले टिमका कुनै पनि सदस्यलाई बाहिरी व्यक्तिसँग भेट्ने अनुमति दिएको छैन । त्यस्तै, चलचित्र ‘राधे’ को निर्माण पक्षका अनुसार पूरा टिमको कोभिड–१९ परीक्षण गरिएको छ, जसमध्ये कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन । अर्को परीक्षण अभिनेता र प्रमुख टिमका सदस्यसहित सेटको नजिक रहने व्यक्तिको गरिने जनाइएको छ ।सौयै दैनिकमा खबर छ ।
यसबारेमा चलचित्रमा काम गर्ने कर्मचारीलाई भिडियोको माध्यमले नियमबारे जानकारी गराइएको छ । अभिनेता सलमानले सेटमा पूरा सावधानी अपनाउन जोड दिइरहेका छन् । उनको सुझावमा सेटमा एक डाक्टरबाहेक एक विशेष टिम रहनेछ । यो विशेष टिमले सेटमा स्वच्छतालाई ध्यानमा राखिएको छ–छैन भनेर सुनिश्चित गरिरहेको छ ।
