आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

सानोतिनो चोरीमा पहिले पनि पक्राउ परेको हो, तर त्यत्रो अपराध भने गरेको छैन – निर्मला प्रकरणका अभियुक्त विशाल चौधरीकी आमा

काठमाडौं, मंसिर- २१ ।
कुखुरा चोरेको आरोपमा साउन ९ गते पुलिसले लगेको थियो, १० गते म जमानी बसेर छुटाएर ल्याएकी हुँ, त्यही दिन निर्मला हत्याको घटना घटेछ, मेरो छोरो घरमै थियो

चार–पाँच दिनअघिको कुरा हो । बिहान राम्ररी घाम पनि झुल्केको थिएन  । मेरो छोरो (विशाल) त उठेको पनि थिएन, पुलिसले ओछ्यानबाटै उठाएर लगे । दिनभर केरकार गरेर बेलुका मात्र छाडिदिए ।

अर्को दिन फेरि पक्रेर लगेछन , फेरी दिनभरी नै केरकार गरेर छाडिदिए । यसरी छोरो (विशाल) लाई कहिले घरबाट, कहिले पसलबाट त कहिले बाटोबाटै समातेर लग्ने र छोड्ने गरिरहेका थिए ।

हामी त ज्यालादारीमा काम गर्ने मान्छे, हिजो (बुधबार) दिनभर काम गरेर साँझ फर्किएका मात्र के थियौँ, छोरालाई फेरि समातेको खबर पायौ, बाटोबाटै पक्रेर पुलिसले लग्यो भन्दै उसका साथीहरूले सुनाए । छुटाउन भनेर गयौँ । तर, उसलाई भित्र राखिएको रहेछ , तपाईंहरू गेटबाहिर बस्नोस् भनेर हामीलाई भित्र जानै दिएनन ।

रातभरी उसलाई थानामै राख्ने भए, हामी भने घर आयौँ । तर, रातभरी सुत्न सकेका थिएनौँ । राति करीव १२ बजेतिर गाडी लिएर पुलिस आए, विशालका सारा कपडा उठाएर लगे, थोत्रा चप्पल समेत बाकि राखेनन् ।

हामी बिहान प्रहरी कार्यालय गयौँ, फेरि पनि भित्र जान दिएनन। अब तिम्रो छोरालाई काठमाडौं लग्ने हो, तिमी पनि जानुपर्छ, २ बजे तयार हुनू भनेर मेरो श्रीमान्लाई प्रहरीले भने । प्रहरीले भनेपछि मान्नै पर्‍यो, पक्राउ परेका अन्यलाई पनि गाडीमा राखेर धनगढी लगे, त्यहाँबाट जहाजमा काठमाडौं लगे भन्ने सुनेकी हु, अरू थप केहिपनि थाह पाएकी छैन ।

चार–पाँच दिनदेखि हरेक पटक पक्राउ गर्दा निर्मलाको हत्या प्रकरणबारे सोधपुछ गर्छन् भनेर छोराले सुनाएको थियो । तर, त्यो केसमा मेरो छोराको केहि पनि दोष छैन । किनभने १० साउनमा निर्मलाको घटना भएको भन्ने सुनेकी थिए । ९ साउनमा मेरो छोरालाई पुलिसले समातेको थियो । हाम्रै गाउँको एउटा मान्छेले कुखुराको मासुको व्यापार गर्छन । उसको कुखुरा हराएको रहेछ अनि चोरीमा मेरो छोराको नाम लिएको रहेछ, त्यसैले पुलिसले उसलाई समाएको थियो । त्यो रात्भरी विशाल थुनामै बस्यो ।

भोलिपल्ट बिहानै म आफै गएर जमानी बसेपछि विशाललाई प्रहरीले छाडिदियो । हामी दिउँसो ११ बजेतिर मात्र घर आइपुग्यौ, खाना खायौँ, दिनभर म पनि कतै गइन ऊ पनि संगै थियो र कतै जान दिइनँ, किनकि जमानीमा बसेर ल्याएकी थिएँ । भोलिपल्ट साउन ११ मा फेरि प्रहरीको वडा कार्यालयमा लिएर गएँ । तर, कुखुरा हरायो भन्ने मान्छे नै आएन अनि प्रहरी सरहरूले फोन गर्दा पनि न आएपछि हामीलाई छाडियो । त्यसपछि प्रहरीले मेरो छोरालाई आज सम्म सोधखोज नै गरेको थिएन न।

मेरो छोराले के–के औषधि पनि खान्छ भनेर हल्ला चलेको पनि नसुनेकी हैन तर दारु खाएको थाहा सम्म थाह छ, त्यस्तो औषधि खाएको मलाई आजसम्म थाहा छैन । बरु एकपटक एउटा पसलबाट बिस्कुट, चाउचाउ चोर्‍यो भनेर पनि प्रहरीले लगेको थियो । यसअघि पनि चोरीको केसमा प्रहरीले लगेकोे हो, तर त्यस्तो अपराध गरेको भन्ने कुरा सरासर गलत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *