बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नोटाम सुरु भएको १७ मिनेट पछि अन्तर्राष्ट्रिय उडान नियम विपरित फ्लाई दुबईको विमान उड्यो

काठमाडौँ — चैत्र २७ ।

सात दिन अघि ‘नोटाम’ का कारण नेपाल वायुसेवाको विमानलाई उड्न निदएको विमानस्थलले फ्लाई दुबईलाई भने किन दियो अनुमति ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतकालागि १० बजेदेखि हुने उडान बन्दको अन्तर्राष्ट्रिय नियम (नोटाम) उल्लंघन गर्दै फ्लाई दुबईलाई मंगलबार राति उडान अनुमति दिइएको छ ।

उड्डयनकर्मीहरुकालागि जारी गरिने नोटाम लागू भइसकेपछि उडान अनुमति दिन मिल्दैन।

विमानस्थल व्यवस्थापनले ठिक १० बजेपछि उडान गतिविधि रोक्नुपर्छ। तर, विमानस्थल व्यवस्थापनले नोटाम जारी भएको १७ मिनेटपछि फ्लाई दुबईको बोइङ ७३७ विमान काठमाडौंबाट दुबईकालागि उड्नको लागि अनुमति दिएको छ।

flydubai chart

विमानस्थलका अधिकारीहरु र एटीसीले महाप्रबन्धकको आदेशअनुसार, उक्त विमानलाई उड्न अनुमति दिएको जानकारी दिए। विमास्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले आफूले यात्रुहरुप्रति सहानुभूति राखेर उडान भर्न अनुमति दिएको बताए।

‘अस्ति निगमको जहाज नउड्दा भएको बिचल्ली जस्तो नहोस् भनेर समय थपेको हुँ,’ महाप्रबन्धक क्षेत्रीले भने।

कुनै पनि विमानले थप समय माग्दा विमानस्थल प्रमुखलाई अधिकार हुन्छ। तर, नोटाममा भने विमानस्थल प्रमुखले सयम थप्न सक्दैनन्। नोटामपछि उडाइएको फ्लाई दुबई उडानबारे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले आफूलाई जानकारी नभएको बताए।

fly-dubai- chart

गत बुधबार सवा नौं बजे उडान तालिका भएको निगमको वाइडबडी विमानलाई विमानस्थलले नोटाम जारी भएको भन्दै १० बजेपछि दुबई उड्न रोकेको थियो। २ सय ७६ यात्रु रहेको विमान ११ घन्टापछि बिहीबार विमान मात्रै उडेको थियो।

त्यसदिन महाप्रबन्धक क्षेत्री एयरपोर्ट काउन्सिल इन्टरनेशनलको एशियाली सम्मेलनमा भाग लिन हङकङमा थिए। उक्त दिननिगमको वाइडबडीकालागि थप समय मागिएको थियो। तर, विमानस्थल व्यवस्थापनले नोटामका कारण उडान अनुमति दिएको थिएन। त्यतिबेला विमानस्थलमा निमित्त महाप्रबन्धक सुरेशमान सिंह थिए। उक्त घटनाबारे सरकारले सहसचिवको नेतृत्वमा छानबिन गरिरहेकोछ।

फ्लाई दुबईले दुबई–काठमाडौं–दुबई दैनिक तीनवटा उडान गर्छ।

(कान्तिपुर दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *