tree guard at tundikhel

माघ—८, काठमाडौं ।

काठमाडौंको टुँडिखेल वरिपरि रहेका १ सय २५ वटा ट्रि गार्ड हटाइएको छ।

जुद्ध बारुण यन्त्र कार्यालयबाट खटिएका १० जना र वातावरण व्यवस्थापन विभागबाट खटिएका १० जना गरी २० जनाको समूहले ३ दिन लगाएर फलामका बार हटाएको हो।

हुर्किएका बिरुवा छेकिएका र बिरुवा मरेका ठाउँमा भएका ‘ट्रि गार्ड’ हटाइएका हुन्।

यस क्रममा पहिलो दिन ३५ वटा, दोस्रो दिन ४४ र तेस्रो दिन ४६ वटा बार निकालिएको बारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीले जानकारी दिए।

उनका अनुसार सुन्धारा, वायुसेवा निगम, वीर अस्पताल, रत्नपार्क, जमल, दरबार मार्गको मुख हुँदै त्रिचन्द्र क्याम्पस, भद्रकाली, सहिदगेटमा रहेका बार हटाइएका हुन्।

यस क्षेत्रमा अब करिब १५ वटा साना बिरुवा छेकिएका बार मात्र बाँकी छन्। हटाइका ट्रि गार्डहरू टेकुमा राखिएका छन्। तिनीहरूलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ।

‘बिरुवा हुर्किसकेकोले यी संरचनाको आवश्यकता भएन, त्यसैले हटाइएको हो’, महानगरको कार्य सञ्चालन शाखाका प्रमुख मीन थापाले भने, ‘ट्रि गार्ड हुँदा त्यसमा जम्मा भएको फोहोरले सहरलाई कुरूप देखाएको थियो। अब सडक सफा बनाउन सजिलो हुन्छ।’

ट्रि गार्ड हटाइएका बिरुवालाई काँटछाँट गर्ने, रङ लगाएर आकर्षक बनाउने महानगरको योजना छ।

(सेतोपाटी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here