आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज सर्वोच्चमा रिट दायर गर्ने

विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज रिट दायर गर्ने भएका छन् । गठबन्धनले बिहान १० बजे १४९ मध्ये मुख्य नेताहरू भाैतिक रूपमा उपस्थित भएर रिट दायर गर्न लागेकाे हाे ।

यसका लागि हिजाे सबै सांसदहरूकाे हस्ताक्षर संकलन भइसकेकाे बताइएकाे छ ।

आइतबार नै अदालत जाने भनिए पनि कानुनी ढाँचाअनुसार कागजातसहितको विवरण र मस्यौदा तयार पार्न ढिलाइ भएपछि सोमबार मात्रै रिट पेस गर्ने तयारी गरिएको हो ।

विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले सो सम्बन्धी निर्णय बदर गर्न माग गरिएकाे छ ।

रिटले संविधानको धारा ७६ (५) अनुसार बहुमत सांसदहरुको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दावी सदर गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग समेत गरेको छ ।

यस्तै, रिटमा नेपालको संविधान र सर्वोच्च अदालतले विगतमा स्थापित गरेका नजीर र सिद्धान्त विपरीत प्रतिनिधिसभा विघटन र वैकल्पिक सरकार गठनमा अवरोध भएको दावी गरिएको छ ।

रिटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको खनाल–नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरुले हस्ताक्षर गरेका छन्।

रिट दर्ता गर्न शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादवसहितका नेताहरु आफैं अदालतमा उपस्थित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *