काठमाडौं, पुस-१६ ।
पुस १६ गते । आजभन्दा ७ महिनाअघि असार १४ गते काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पानीजहाज र रेलको कुरा गर्दा उडाउने गरेको भन्दै ‘पुस १६ गते पानीजहाज चढ्न टिकट काटेर तयार हुनोस्’ भनेका थिए ।
रोचक कुरा त उनले सोही भाषणकाक्रममा डिजिटल दुनियाँमा बोलेका सबै कुरा रेकर्ड हुने भन्दै विचार गरेर बोल्न आग्रहसमेत गरेका थिए ।
स्रोता–दर्शकलाई मन्त्रमुग्ध पार्नेगरी भाषण गर्ने शैली निकै नै राम्रो शैली हो । अझ त्यसमा विभिन्न विम्ब मिसाएर स्थानीयकरण गर्दै बुझ्ने शैलीमा भाषण गर्नसकेमा झन् राम्रो ।
प्रधानमन्त्री केपी शर्मा ओली यो मामलामा माहिर छन् । अझ उनमा अर्को एउटा फरक क्षमता छ, भाषणकैक्रममा उखान, टुक्का र विम्ब मिसाएर हसाउँदै व्यंग्यात्मक शैलीमा भाषण गर्ने ।
तर, पछिल्ला दिनहरुमा उनका बोलीहरु नै उनका लागि समस्या बन्दै गएको पनि पाइन्छ । कतिपय आन्तरिक बैठकमा नेताहरुले उनलाई कम बोल्न पनि सुझाव दिने गरेका छन् । तर, प्रधानमन्त्री ओलीलाई त्यसले रत्तिभर पनि फरक परेको छैन ।
नेकपा स्थायी समितिको हालै सम्पन्न बैठकमा यही विषयलाई लिएर सचिवालय सदस्य वामदेव गौतमले गम्भीर प्रश्न उठाए ।
‘पार्टी बैठकमा उठाएका गम्भीर विषयलाई मजाक बनाउने ?’ भन्दै उनले ‘दुईतिहाइ शक्ति छ, संविधान संशोधन गरेर दुवैजना प्रधानमन्त्री बन्नोस् तर मजाक नगर्नोस्’–भने ।
२०७५ साल पुस १६ नजिकिँदै गर्दा नै प्रधानमन्त्री ओलीमाथि प्रश्न तेर्सिन थालिसकेको थियो । ‘के पुस १६ गते पानीजहाज चढ्न पाइन्छ ?’ भनेर ।
उनले बोलीमा लगाम नलगाउँदा ‘पुस १६ गते पानीजहाजको टिकट काटेर तयार रहनोस्’ भन्दै गरेको भाषण अहिले ‘भाइरल’ भएको छ ।
उनले गत जेठ ३ गते काठमाडौंमा भएको कार्यक्रममा डिजिटल दुनियाँमा बोलेका सबै कुरा रेकर्ड रहने भन्दै पुस १६ गते पानीजहाज चढ्न टिकट काट्न आह्वान गरेका थिए ।
देशको कार्यकारी प्रमुखले नै तोकेर दिएको निम्तोले अहिले स्वयं प्रधानमन्त्रीलाई नै मजाकको पात्र बनाएको छ ।
आफ्नो विरोधीलाई आफूले बोलेका कुरा रेकर्ड भएर बस्ने भएकाले ख्याल गर्न सुझाव दिएका प्रधानमन्त्री स्वयंलाई भने आफ्नै कुरा रेकर्ड भएर बस्छ भन्ने ख्याल नभएको देखियो ।
इमेज खबर