असाेज ५ काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।आजदेखि शुरु भएको मुलुकको आन्तरिक उडानको अवस्था, सुरक्षित उडानका लागि एयरलाइन्सले अपनाएको स्वास्थ्य मापदण्डलगायतको अवलोकनका लागि मन्त्री भट्टराई विमानस्थल पुगेका हुन।
पर्यटनमन्त्रीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल लगायतका उच्च अधिकारी पनि विमानस्थलको अवलोकनमा सहभागी भएका थिए।पर्यटनमन्त्रीले आन्तरिक टर्मिनलमा यात्रुको सुरक्षाका लागि एयरलाइन्सले अवलम्बन गरेको स्वास्थ्य मापदण्ड, स्वास्थ्य सावधानीको निरीक्षण तथा अवलोकन गरे।
उनले स्वास्थ्य सावधानीका लागि थप सजगता अपनाउन र स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्न एयरलाइन्सलाई निर्देशन दिनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । टोलीले आन्तरिक टर्मिनलको साथै अन्तर्राष्ट्रिय टर्मिनलको अवलोकन तथा सेवाबारे सम्बन्धित अधिकारीसँग जानकारी लिनुभएको थियो।
कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभार लागू गरिएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण झण्डै ६ महिनापछि आजदेखि आन्तरिक उडान शुरु भएको थियो। सामान्य अवस्थाको २५ प्रतिशत क्षमतामा आन्तरिक उडान सञ्चालनका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ।
शुरुको सातादिनको अवस्थालाई हेरेर क्रमशः उडान संख्या थपिने प्राधिकरणले जनाएको छ । अहिले आन्तरिकतर्फ दैनिक ५० वटा सम्म उडान सञ्चालन गरिनेछ।आज बुद्ध एयर र यती एयरलाइन्सले मुख्य गन्तब्यमा उडान भरेका छन् । बुद्धले आफ्नो राजविराज बाहेक सबै गन्तब्य र यतीले पोखरा, चितवन र विराटनगरमा उडान भरेको छ।
