भदाै २८ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले कोभिड १९ स्वयं सेवा शुरु गरेका छन् ।राष्ट्रियसभा सदस्य (सांसद) समेत रहेका श्रेष्ठले आफ्नो सचिवालयअन्तर्गत रहने गरी कोभिड १९ स्वयं सेवा शुरु गरेका हुन् ।
कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भइ मानव जीवनको रक्षा गर्ने उद्देश्यका साथ स्वयं सेवा थालिएको नेता श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।जसअन्तर्गत कोरोना संक्रमितको उपचार सम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गरिने छ ।
नेता श्रेष्ठको सचिवालयअन्तर्गत गठन भएको स्वयं सेवी समूहले कोरोना संक्रमितलाई मनोजामाजिक परामर्श, आपतकालीन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिकको उद्धार तथा सुरक्षित घर फिर्तीमा समन्वय तथा सहयोग र कोभिड १९ बारे सचेतना फैलाउने काम गर्ने जनाइएको छ ।
कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी नेपाल सरकारका नीति, योजना र निर्देशनलाई मूल मागनिर्देशन मानी त्यसलाई कार्यान्वयन गर्न सहयोग पुर्याउने पनि नेता श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।


