आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

विवादित रेलमार्गको ठेक्का रद्द

भदौ २३ काठमाडौं । रेलमार्गको ठेक्का प्रक्रियाबाट रेल विभाग अन्नतः पछि हटेको छ । विभागले असार १४ र १७ गते आह्वान गरेका ५४ वटा ठेक्का रद्द गरेको हो ।
प्रक्रिया पूरा नगरी सेटिङमा ठेक्का लगाइएको, जग्गाको मुआब्जा विवाद नसुल्झिएको लगायतका कारणले ठेक्का विवादित बनेपछि विभाग निर्णयबाट पछि हटेको हो ।

ट्रयाक बनाउने खण्डमा अधिग्रहण हुने घरजग्गा र अन्य सम्पत्तिको मूल्य तोक्ने काम समेत नभएको भन्दै विभागको चर्को आलोचना हुँदै आएको थियो ।संसदको विकास तथा प्रविधि समितिले पनि विभागको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै प्रक्रिया रोक्न निर्देशन दिंदै आएको थियो । विभागले आज एक सूचना जारी गर्दै गत असार १४ र १७ गते अह्वान गरिएका ठेक्का रद्द गरेको जनाएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत रेलका लागि लिक बिछ्याउने ट्रयाक बनाउन विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान गरेको थियो ।१०६ किलोमिटर खण्डमा रेल्वे ट्रयाक बनाउन ठेक्का आव्हान गरिएको थियो ।
१०६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको रेल विभागले सूचना निकालेर जानकारी दिएको हो ।

यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो । यो टेन्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो । तर विवादका बाबजुद पनि टेन्डर प्रक्रियालाई अगाडि बढाउने तयारी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *