काठमाडौँ —चैत ५ ।
अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटका पहिलो नेपाली स्टार सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ संस्करणका लागि तयार छन्, फेरि एकपल्ट आफूलाई सिद्ध गर्न । गत वर्ष दिल्ली डेयर डेभिल्ससँग आवद्ध हुँदा उनी नयाँ थिए, धेरै हदसम्म कच्चा पनि थिए । त्यसैले उनले त्यति बेला धेरै मौका पनि पाएनन् । दिल्लीको टिमले अनुबन्ध गरेपछि उनी विश्व क्रिकेटका लागि सनसनीपूर्ण समाचार भने बनेका थिए ।
यसपल्ट यी किशोर लेग स्पिनर आफ्नो नयाँ अवतारसँगै प्रस्तुत हुनेछन्। र, यो अवतार हुनेछ, अनुभवी सन्दीपको। तय छ, यसपल्टको आईपीएलमा दिल्ली क्यापिटल्सका लागि उनको भूमिका वृहत र लामो हुनेछ। उनलाई दिल्लीले टिमका मुख्य प्रभावशाली खेलाडीका रूपमा मैदानमा उत्रनेछ। उनी बुधबार होलिकै दिन बिहान दिल्ली जाँदैछन् र त्यसको अघिल्लो दिन नेपाली मिडियासामू प्रस्तुत भए। उनले भने, ‘मलाई पूरा विश्वास यसपल्ट मैले धेरै भन्दा धेरै मौका पाउने छु।’
उनले थपे, ‘म निकै उत्साहित छु। मलाई लाग्छ, यसपल्ट मेरो काँधमा धेरै जिम्मेवारी थपिएको छ। गत वर्ष दिल्लीबाट खेलेयता मैले नेपालसँगै अरू फ्रेन्चाइज टिमबाट पनि खेलेँ। त्यसबाट मैले धेरै अनुभव बटुलेको छु। त्यसैले यसपल्ट फेरि एकपल्ट शत प्रतिशत प्रदर्शनका लागि प्रयास गर्ने छु। मलाई लाग्छ, यसपल्ट म धेरै दबाबबाट गुज्रिने छैन्। मेरो लागि राम्रो प्रदर्शन गर्ने भने चुनौती हुनेछ। विश्वास गरौं, मेरो प्रदर्शन राम्रो हुनेछ।’
गत वर्ष उनले दिल्लीका लागि तीन खेल मात्र खेल्न पाए, त्यो पनि दिल्लीको प्रतियोगितामा चुनौती समाप्त भइसकेपछि। तर पनि उनले आफ्नो उपयोगिता भने सिद्ध गरे। उनले तीन खेले खेले र त्यसमा ७२ बल फ्यालेर ८२ रन दिए। त्यसमा उनले पाँच विकेट लिए। उनको उच्च प्रदर्शन रह्यो, तीन विकेटमा ३६ रन। सन्दीपले त्यति बेला कम मौका पाए पनि उनको प्रदर्शनको भने प्रसंशा नै भएको थियो। त्यसै प्रदर्शनले उनका लागि अरूतर्फ खेल्ने बाटो पनि खोलेको थियो।
सन्दीपले गत वर्षको आईपीएल खेलेयता अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटको ठूलो अनुभव बटुलिसकेका छन्। उनले पछिल्लो पटक पाकिस्तानको सुपर लिगमा खेलेका थिए। त्यस्तै उनले अस्ट्रेलियाको बिग बाससँगै बंगलादेश, क्यानाडा, हङकङ, यूएई र वेस्ट इन्डिजमा खेलिसकेका छन्। यसपल्टको आईपीएल केही दिनमै सुरु हुँदैछ र तय छ, सारा नेपाली क्रिकेट प्रशंसक सन्दीप र दिल्लीको खेल पछ्याउन ब्यस्त हुनेछन्।
(कान्तिपुर दैनिक)