ajit-kumar-yadav-athletics

काठमाडौँ —चैत ३ ।

हङकङमा जारी तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जितेका छन् । आइतबार भएको ३ हजार मिटर दौडमा भारत, जापान, यमन लगायतका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल एपीएफ क्लबका खेलाडी अजितले स्वर्ण जितेका हुन् ।

उनले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गरे । दोस्रो स्थानमा रहेका भारतका अमित जंगजीर ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत र ८ मिनेट ३८.६० सेकेण्डमा निर्धारित दूरी पूरा गरेका यमनका गामिल अल हामातीले काश्य पदक पाए ।

जुनियर एथ्लेटिक्समा नेपालले एशियाली स्तरमा पहिलो स्वर्ण जितेको हो । वास्तवमा एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा जीतबहादुर केसीले नेपाललाई पहिलो पदक जितेयता एशियाली एथ्लेटिक्समा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन ।

नेपाल एथ्लेटिक्स संघको विवादका कारण यस प्रतियोगितामा नेपालको सहभागिताको टुंगो अन्तिम समयमा लागेको थियो । एपीएफका खेलाडी अजितसँग राष्ट्रिय प्रशिक्षकको रुपमा एपीएफकै प्रशिक्षक धनीराम चौधरी गएका छन् ।

(कान्तिपुर दैनिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here