gurkha-pass-out

लन्डन — फागुन ३०।

बेलायती सेनामा तेस्रो गोर्खा बटालियन स्थापना हुने भएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार सन् २०१९ बाट भर्ती सुरु गरी निर्माण गरिने बटालियन विशेष इन्फेन्ट्री हुनेछ ।

बेलायतले २०१५ मा प्रकाशित गरेको रक्षा पुनरावलोकन प्रतिवेदनले ५ वटासम्म विशेष बटालियन बनाउन दिएको सुझावअनुसार नयाँ बटालियन स्थापना गर्न लागिएको हो । गत वर्ष नेसनल अडिट अफिसले करिब ८ हजार २ सय सैनिक नपुग भएको
प्रतिवेदन पेस गरेको थियो ।

‘शताब्दीदेखिको लामो सेवा र बलिदानबाट आफ्नो सीप र बहादुरीका लागि गोर्खा सैनिकले अरू कसैले हासिल गर्न नसकेको इज्जत कमाएका छन्,’ बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टरले नयाँ बटालियन स्थापनाको घोषणा गर्दै विज्ञप्तिमा भनेका छन् ‘गोर्खाहरूको दक्षता र बेलायतप्रति उनीहरूको दृष्टिकोणका कारण विशिष्ट तेस्रो बटालियन बनाउन उनीहरू नै आदर्श ठहरिएका हुन् ।’ रोयल गोर्खा राइफल्सका कर्णेल मेजर जेनेरल गेज स्ट्रिकल्यान्डले भने, ‘तेस्रो बटालियन खडा गर्न सेनालाई सहयोग गर्न
पाएकोमा रोयल गोर्खा राइफल्स निकै खुसी छ । विशेष इन्फेन्ट्रीको भूमिका उत्साहप्रद र चुनौतीपूर्ण हुनेछ ।

यो जिम्मेवारी बहन गर्न सेनाले हामीलाई विश्वास गरेकामा हामी निकै गौरवान्वित छौं ।’ नयाँ युनिटले गोर्खाहरूलाई करिअरमा थप अवसरको पहुँच, पदोन्नतिसहित ‘ब्रिगेड अफ गोर्खाज’ मा २४ वर्ष आर्मी सेवा गर्न मौकामिल्ने विश्वास गरिएको छ । गोर्खाहरू विगत २ सय वर्षभन्दा बढी समयदेखि बेलायती सेनामा अभिन्न अंग बन्दै आएका छन् ।

२०१९ इन्टेकका लागि गत महिना नेपालबाट करिब ४ सय युवा छानिइसकेका छन् । यस अलवा बेलायतले ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलो पटक नेपाली महिला पनि सामेल हुन सक्ने गरी बाटो खोलिदिएको छ । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई बेलायती सेनामा अवसर प्रदान गरिने यसअघिनै घोषणा भइसकेको छ । बेलायत सरकारले गत साता मात्र भूतपूर्व गोर्खा सैनिकका माग सम्बोधन गर्न बृहत् गोर्खा प्याकेज सार्वजनिक गरेको थियो ।

प्याकेजमा भूतपूर्व गोर्खा सैनिकलाई सन् २०१६ को १ जनवरीदेखि नै ३४ प्रतिशतसम्मका दरले पेन्सन वृद्धि गरी गुडविल प्याकेजका रूपमा वृद्धि एकमुष्ट उपलब्ध गराउन ४६ मिलियन पाउन्ड (६ अर्ब ७० करोड रुपैयाँ) व्यवस्था गरिएको उल्लेख छ । त्यस्तै, सन् २०१९ को अप्रिलदेखि ३४ प्रतिशतसम्मको पेन्सन वृद्धि अलवा नेपालको मुद्रास्फीतिअनुसार थप ३.७ प्रतिशत वृद्धि हुने र सोका लागि प्रतिवर्ष १५ मिलियन पाउन्ड (नेरु २ अर्ब २५ करोड) छुट्टयाइएको छ ।

हालको वृद्धिले सबैभन्दा कम पेन्सन पाउने भूतपूर्व गोर्खाले समेत वार्षिक ७ लाख ३० हजार पाउने प्याकेजमा उल्लेख छ । त्यसैगरी भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवार लगायतलाई सहज तवरले औषधोपचारको व्यवस्था गर्न १० वर्षको अवधिमा दमक, धरान, पोखरा, बुटवल र काठमाडौंमा स्वास्थ्य केन्द्र स्थापना गर्नसमेतबजेट व्यवस्था गरिएको छ ।

यसअघि गोर्खा ब्रिगेडमा ४ वर्षभन्दा कम अवधि सेवा गरी स्वास्थ्यको कारणले नेपाल फर्केकालाई समेत बेलायतमा आई बसोबास गर्न सक्ने व्यवस्थाका लागि आवश्यक कार्य अघि बढाइने पनि बताइएको छ । ८० वर्ष पुगेका भूतपूर्व गोर्खालाई पेन्सनमा विशेष वृद्धि गरिने एवं गोर्खा पेन्सनबापतको रकम सिधै नेपालका बैंकमार्फत पठाइने व्यवस्था घोषणा गरिएको छ । तर, यस प्याकेजमा भूतपूर्व गोर्खाले असन्तुष्टि व्यक्त गर्दै नयाँ आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

(कान्तिपुर दैनिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here