अर्घाखाँची —फागुन २९।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको सनकका कारण देश बिग्रन थालेको बताएका छन् । उनले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताए ।
महिला संघले सन्धिखर्कमा राखेको कार्यकर्तासँगको भेटघाटमा संघीय सांसद थापाले संसदमा विपक्षी दल कांग्रेस छ भन्ने पनि हेक्का नराख्नु ओलीको लागि भुल भएको बताए । उनले देशलाई बचाइराख्न अब कांग्रेसले सशक्त भूमिका खेल्ने बताए ।
‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भयो,’ उनले भने, ‘अहिले ओलीले फेरी देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे ।’ ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानासा बन्नतर्फ लागेको उनले दाबी गरे । ‘ओली सरकार चलाउन असफल भैसके,’ उनले भने ।
(कान्तिपुर दैनिक)