pushpakamal dahal prachanda

विराटनगर — फागुन २८।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको बताएका छन् । विराटनगरको सहिद रंगशालामा आजबाट सुरु हुने साफ महिला फुटबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष दाहालले मङ्गलवार संवाददाताहरूसँग यस्तो कुरा गरेका हुन् ।

‘आज बिहान मात्र प्रधानमन्त्रीसँग मन्त्रिमण्डल पुनर्गठनको विषयमा कुरा भएको छ,’ अध्यक्ष दाहालले भने, ‘अहिले म सिधै बालुवाटारबाट यहाँ आएको हुँ। मन्त्रिमण्डल पुनर्गठनको विषयमा कुरा भएको थियो।’

प्रधानन्त्रीले अध्यक्ष दाहालसँग पुर्नगठनका बारेमा राय मागेका थिए। ‘प्रधानमन्त्रीजीले गर्नुपर्‍यो भने दुईवटा अध्यक्षबीचमा छलफल गरौँला तर अहिले हतारै चाही छैन भन्नुभयो,’ अध्यक्ष दाहालले भने, ‘मैले यो निर्णय तपाईँले नै गर्नुहोस् भनेको छु। यो तपाईँको मूल्याङकनमा भर पर्ने कुरा हो र अधिकार पनि तपाईँकै हो।’

सरकार सकारात्मक दिशामा अघि बढी रहेको अध्यक्ष दाहालको भनाइ थियो। ‘ नयाँ नयाँ काम भएका छन्। देशमा सामान्य राजनीतिक परिर्वतन भएको हैन। ठुलो सिस्टम परिवर्तन भएकाले नयाँ संरचनामा बनाउन गएको एक वर्ष बढी समय लाग्नु स्वाभाविकै हो,’ अध्यक्ष दाहालले भने,’सङ्घ, प्रदेश र स्थानीय तहमा कानुनहरू बनेका छन्। आधार तयार भएको अवस्था हो। छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत सन्तुलनमा ल्याउनुपर्ने भएकाले बढी समय त्यसतर्फ गयो।’

जति अपेक्षा गरेको त्यति गति पक्रेन की भन्ने जनगुनासो आएको उनले बताए। ‘त्यो कुरा हाम्रो प्रधानमन्त्रीजीलाई पनि थाहा छ मलाई पनि थाहा छ,’ उनले भने, ‘छिमेकीहरूसँग नयाँ सहमति भएका छन्। सामाजिक सुरक्षा जस्तो महत्त्वपूर्ण काम भएको छ। युवा स्वरोजगारका कुरा आएका छन्। आउने दिनमा सरकारले अझ गति लिन्छ भन्ने हाम्रो बुझाइ छ।’

(कान्तिपुर दैनिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here