काठमाडौं—फागुन २७।
शुक्रबार राष्ट्रिय सभामा नेपाल सरकार र सिके राउतबीचको सहमति घोषणा भएलगत्तै नेकपा नेता भीम रावलले ट्वीट गरे, ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ? देश टुक्य्राउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्य्राउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं । ’
उनले केही सञ्चारमाध्यमबाट पनि सहमतिमाथि प्रश्न गर्दै सहमतिले देश विखण्डनको मुद्धालाई प्रोत्साहन दिएको आरोप लगाए । हिजो उनले श्रृंखलाबद्ध रुपमा ट्वीट गरेर आफ्नो देशभक्तिबारे प्रस्टिकरण दिए ।
जवाफमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सोमबार बिहानै कविताको लयमा ट्वीट गरे –
‘नेताहरू-झुक्किए, फसे वा फसाईए
या तिनिहरूले गल्ति नै गरे
पनि कोईवात छैन
हामी धन्य छौं मुलुक जोगाउने
‘एक-से-एक उहॉहरू हुनुहुन्छ।
आङ् सिरिङ्ग हुन्छ र,
साह्रै आश्चर्य लागि रहेको छ,
उहॉहरूको जन्म अघि यो मुलुक कसरी जोगिए छ ?’
यस्तै, आफूलाई र रिमाललाई मेन्सन गरिएको एक ट्वीटमा जवाफ दिँदै रावलले लेखे, ‘दलालहरूको आँखामा दलालै संसार ! देश टुक्य्राउने घोषणा गर्नेलाई नायक बनाउने काम नगरौँ, नेपालको तराईलाई विभाजन गर्ने षडयन्त्रबाट सचेत हौं भन्ने दलाल हुने, देश विभाजनको षडयन्त्र गर्नेलाई बोक्ने र प्रसंशा गर्ने खाँटि इमान्दार ! कुतर्कको पराकाष्टा ! ’
(नयाँ पत्रिका)