उत्तर कोरियाको सानुमडोङ क्षेप्यास्त्र तथा रकेट परीक्षण केन्द्र (नीलो) को भूउपग्रह तस्बिर

सोल —फागुन २६।

अमेरिकी राष्ट्रपतिसँगको दुई साताअघिको वार्ता बिनानिष्कर्ष टुंगिएपछि उत्तर कोरियाले पुनः रकेट प्रक्षेपणको तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तरले राजधानी प्योङयाङ नजिकै रकेट प्रक्षेपणका लागि तीव्र तयारी गरिरहेको भूउपग्रह तस्बिरहरूले प्रस्ट भएको दाबी गरेका छन् ।

बीबीसीका अनुसार उत्तरले यसअघि अधिकांश ब्यालेस्टिक क्षेप्यास्त्र तथा रकेट परीक्षण गरेको केन्द्र सानुमडोङ वरपरका गतिविधिमा निकै बढेको छ । गतसाता उत्तर कोरियाले आफ्नो मुख्य रकेट प्रक्षेपण केन्द्र सोहाईमा पुनर्निर्माण थालेको विवरण प्राप्त भएका थिए ।

सोहाई रकेट प्रक्षेपण केन्द्र ध्वस्त पार्ने कार्य गत वर्ष सुरु भएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचकोवार्तामा ठोस सहमति नभएपछि रोकिएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ‘उत्तर कोरियाले परमाणु अस्त्रको निर्माण सुचारु गरे त्यसले आफूलाई निकै निराश पार्ने’ बताएको थिए । ‘हाम्रो बुझाइविरुद्ध केही भयो भने त्यसले मलाई आश्चर्यमा पार्नेछ । तर हेरौं के हुन्छ ?’ ट्रम्पले भनेका छन्, ‘म परीक्षण देखेर निकै निराश हुनेछु ।’

तर कतिपयले प्योङयाङले रकेट नभई भूउपग्रह प्रक्षेपणको तयारी गरिरहेको दाबी गरेका छन् । भूउपग्रह तस्बिरहरूमा क्षेप्यास्त्र तथा रकेट परीक्षण केन्द्र सानुमडोङ वरपर गाडी, क्रेन तथा रेलहरूको आवतजावत निकै बढेको छ । ती तस्बिरहरू अमेरिकी रेडियो नेटवर्क एनपीआरले सार्वजनिक गरेको हो ।

उत्तर कोरियाले ट्रम्पसँगको हालैको वार्तापछि अमेरिकालाई विचार गरिरहेको देखिन्छ । दुई देशका शीर्ष नेताबीच गत महिनाको अन्त्यमा भियतनामको राजधानी हनोईमा भएको वार्तामा कोरियाली परकाणु निःशस्त्रीकरणका लागि महत्त्वपूर्ण सम्झौता हुने अपेक्षा गरिएको थियो ।

वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले किमलाई परमाणु अस्त्र त्याग्न आग्रह गरेका थिए । किमले त्यसका लागि आफू तयार रहेको जनाउँदै आफ्नो देशमाथिका प्रतिबन्ध हटाउन माग गरेपछि दुई नेताबीचको वार्ता भाँडिएको थियो । राष्ट्रपति ट्रम्पले अमेरिका त्यसका लागि तयार नभएको भन्दै वार्ता त्यागेको बताएका थिए ।

दुई नेताबीच गतवर्ष सिंगापुरमा भएको पहिलो वार्ताका क्रममा कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने सहमति भएको थियो । तर उक्त सम्झौतामा विस्तृत विवरणबारे केही उल्लेख नभएको भन्दै अमेरिकी सांसदहरूले विरोध जनाएका थिए । अन्तर्राष्ट्रिय समुदायले गत महिनाको वार्तामा ट्रम्प र किमबीच परमाणु निःशस्त्रीकरणको दिशामा महत्त्वपूर्ण सम्झौता हुने अपेक्षा गरेपछि अन्ततः निराश बनेका थिए ।

पछिल्लो रकेट परीक्षणको तयारीपछि दुई देशबीच पुनः वाक्युद्ध सुरु हुने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले परमाणु निःशस्त्रीकरणप्रति कुनै प्रगति नभए उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

(कान्तिपुर दैनिक/एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here