usa trade china reactions

वासिङ्टन —फागुन १९।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौतामा सहमतिमा हस्ताक्षर हुन लागेको बताएका छन् । राष्ट्रपतिले दुवै पक्षबीच लगभग सहमति भइसकेको हस्ताक्षर हुन मात्र बाँकी रहेको बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ ही (बायाँ) बीच गतसाता वासिङ्टनस्थित ह्वाइटहाउसमा भएको भेटवार्ता ।

उनले भने, ‘हामी निकै नै नजिक पुगिसकेका छौं ।’ सहमति हुने भएपछि अमेरिकाले चिनियाँ वस्तुमा लगाएको नयाँ कर कार्यान्वयनमा ल्याएको छैन ।

अमेरिकाले मार्च एकदेखि लागू हुने गरी चिनियाँ वस्तुमा १० देखि २५ प्रतिशतसम्म कर घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले करिब २ सय अर्ब डलर बराबरको चिनियाँ सामानमा थप कर घोषणा गरेको हो ।

ट्रम्पले तर दुई देशबीच हुने सहमतिमा हस्ताक्षरका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई फ्लोरिडास्थित निजी रिसोर्टमा भेटवार्ताको योजना बनाइरहेको जनाएका छन् । यसअघि उत्तर कोरियाली नेता किम जोङ–उनसँगको शिखर वार्ताका क्रममा भियतनाम पुगेका बेला राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै ‘चीनसँगको वार्ता माथिल्लो तहमा पुगेको’ जनाएका थिए ।

ट्रम्पले गतसाता अमेरिकाको वासिङ्टनमा भएको वार्ता अन्तिम चरणको भएको जनाएका थिए । यद्यपि, उनले उक्त वार्तामा भएका उपलब्धिबारे विवरण सार्वजनिक गरेनन् ।

सीएनबीसीका अनुसार अमेरिकी अधिकारीसँगको वार्तामा चीनले वार्षिक रूपमा कम्तीमा १ खर्ब २ अर्ब डलर बराबरको अमेरिकी सामान खरिद गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो ।

अक्सफोर्ड इकोनमिक्सका प्रमुख अमेरिकी अर्थशास्त्री ग्रेगोरी डाकोले वार्तामा भएको ढिलाइले दुई पक्षबीच कृषि उपज, स्थिर मुद्रा र बौद्धिक अधिकारको संरक्षणका पक्षमा सहमति हुने विश्वास लिएको बताए ।

(कान्तिपुर दैनिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here