काठमाडौं— २८, माघ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पत्रकारहरुलाई तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गरे ।
काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले पत्रकारसँगको सहकार्यमा समृद्धिको लागि हातेमालो गर्न आफू तयार रहेको पनि बताए ।
‘रानीपोखरी पुनर्निर्माणको लागि महानगरपालिका सक्षम छ । हामीले बजेट दिन्छौं भनेका छौं । तर अहिले आएर पुनर्निर्माण प्रधिकरणले बनाउने भएको छ,’ शाक्यको भनाई थियो ।
महानगरले गर्ने प्रत्येक काममा एउटा पक्षले सधैं विरोध गर्दै आएको भन्दै शाक्यले आम नागरिकलाई तथ्यगत समाचार दिन पनि आग्रह गरे ।
देशैभरका नागरिक बस्ने राजधानी शहर व्यवस्थित र समृद्ध बनाउन साँचो अर्थको पत्रकारिता आवश्यक रहेको उनको भनाई थियो ।
हुन पनि काठमाडौं महानगरलाई पुनर्निर्माणको जिम्मा दिएर २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी शिलान्यास गरेकी थिइन् ।
तर, पुनर्निर्माणमा विवाद देखिए पछि १४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले बालगोपालेश्वर मन्दिरसँगै रानीपोखरी पुनर्निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको छ ।
कार्यक्रममा पत्रकारहरुको लागि १० लाख रुपियाँको कल्याणकारी कोषको घोषणा गरेको छ ।
पत्रकारहरुको जटिल स्वास्थ्य समस्यामा सोही कोषमार्फत उपचार खर्च जुटाउने व्यवस्था मिलाइएको कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले जनाए ।
कार्यक्रममा विभिन्न दाताहरुले कल्याणकारी कोषमा ६ लाख तीन हजार ३ सय २३ रुपियाँ जम्मा गराएका छन् । सोही कोषमा महानगरपालिकाले ५ लाख नगद जम्मा गर्ने आश्वासन दिइएको थियो ।
केहि महिना यतादेखि मृगौँला सम्बन्धिको समस्याले पीडित अग्रज फोटो पत्रकार आशाकाजी महर्जनको लागि पनि नगद संकलन गरिएको थियो ।
महर्जनको लागि हङकङ नेवार समाजको तर्फबाट अध्यक्ष रचना प्रधानले एक लाख रुपियाँ नगद हस्तान्तरण गरिन् ।
सोही कार्यक्रममा अन्य दाताहरुले पनि नगद सहयोग गरेका थिए । मृगौँला पीडित महर्जनको उपचारको लागि यसअघि पनि दबूको अगुवाइमा करिव ६० हजार नगद संकलन गरेर हस्तान्तरण गरिएको थियो ।
देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूको छैटौं वार्षिक साधारणसभामा चार जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।
नेपाल संवत् ११३९ पोहेलागा आमै सोमबार बसेको सचिवालय बैठकले निर्णय गर्दै मोफसलका एक र उपत्यकाभित्रका तीन जना पत्रकारलाई जनही दस हजार नगद र पुरस्कार दिइएको हो ।
पुरस्कार ग्रहण गर्नेहरुमा रुकमणि श्रेष्ठलाई वाङमय शताव्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार दिइएको छ ।
वि.स. २००८ सालदेखि प्रकाशित नेपालभाषाको ‘थौंकन्हय्’ मासिकलाई सम्पादन गर्दै आउनु भएकी श्रेष्ठलाई दोसल्ला ओडाएर पुरस्कृत गरिएको हो ।
सत्ताइस वर्ष यतादेखि पत्रकारितामा सक्रिय रहनुुभएका राष्ट्रिय समाचार समितिका सम्पादक राजु शाक्यलाई भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार दिइएको छ । शाक्यले बुद्ध धर्म तथा पत्रकारिताका विभिन्न विधामा लेख रचना प्रकाशित गरेका छन् ।
त्यस्तै, ज्ञानदेवी स्मृति पत्रकारिता पुरस्कार चितवनका पत्रकार इश्वरकुमार जोशीलाई दिइएको छ । बीबीसी नेपाली सेवामा आवद्ध जोशीले पत्रकारिता क्षेत्रमा लामो अवधिदेखि योगदान दिँदैआएका छन् ।
कार्यक्रममा ४३ वर्ष यतादेखि निरन्तर फोटो पत्रकारिता गर्दै आउनुभएका वरिष्ट फोटो पत्रकार नातिकाजी महर्जनलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार दिइएको छ । महर्जनलाई दिइएको पुरस्कार बापतको नगद भने उहाँले कल्याणकारी कोषमा जम्मा गराए ।
देशका विभिन्न २५ जिल्लामा शाखा बिस्तार गरिसकेको दबूको साधारणसभामा संघीय संरचना अनुरुपको विधान संशोधन गरिएको अध्यक्ष श्रीकृष्ण महर्जनले जनाए ।
महासचिव सुनिल महर्जनले प्रस्तुत गरेको संशोधन प्रस्तावमाथि सदस्यहरुले छलफल गरेर सुझावसहितको विधान पारित गरिएको छ ।
नयाँ विधान अनुरुप दबूले स्थानिय, प्रादेशिक तथा केन्द्रीय संरचना तयार गरेको छ ।
काठमाडौंको टेकुस्थित सासा बैंक्वेटमा आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रदेश ३ का सांसद राजेश शाक्य, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, अग्रज पत्रकार नरेशवीर शाक्य, विजयरत्न असंवरे लगायतको उपस्थिति थियोे ।
(ईमेज खबर)