काठमाडौं— २२, माघ ।
नेविसंघका अध्यक्ष नैनसिंह महरलाई प्रहरीले वानेश्वरबाट पक्राऊ गरेको छ । मीनभवन क्याम्पसबाट जिल्ला प्रशासन कार्यालय बबरमहल जाने क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले आफूसहित अन्य कार्यकर्ता पक्राउ गरेको अध्यक्ष महरले कान्तिपुरलाई बताएका छन् ।
प्रहरीले महरसहित ११ जनालाई पक्राउ गरेको छ। ‘गत शनिबार पोखरामा सरकारी गाडी जलाएको आरोपमा संघका कार्यकर्ता पक्राउ गरिएको भन्दै विरोध गर्दै अगाडि बढ्दा प्रहरीले वानेश्वरको निषेधित क्षेत्रबाट पक्राउ गर्यो,’ महरले महेन्द्र पुलिस क्लवबाट टेलिफोनमा भने।
प्रहरीले महरसहित ७ जनालाई महेन्द्र पुलिस क्लवमा राखेको छ भने बाँकी ४ जनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेको छ। गत शनिबार पोखरामा नेविसंघ कार्यकर्ताले शनिबार पनि सरकारी गाडी चलाएको भन्दै गाडी जलाएका थिए। जिल्ला प्रशासन कार्यालय कास्कीले गाडी जलाएको आरोपमा आइतबार नेविसंघका ३ जना कार्यकर्ता विरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरेको थियो।
(कान्तिपुर दैनिक)