33 kg gold smuggling

काठमाडौं— २२, माघ ।

३३ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा युएई प्रहरीले हरिशरण खड्कालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दुबई बसेर नेपालमा सुन पठाउने गरेको अनुशन्धानमा देखिएपछि खड्का विरुद्ध इन्टरपोल मार्फत पक्राउ नोटिस जारी भएसँगै उनी पक्राउ परेका हुन्।

उनी पक्राउ परेको अनौपचारिक सूचना प्राप्त भएपनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए।

को हुन हरिशरण ?
२१ पौषमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थल बाहिर बरामद गरेको थियो ।

सुन तस्करीमा संग्लन देखिएका १२ जनालाई ब्युरोले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो भने तस्करीमा सामेल रहेको १९ जनालाई ब्युरोले फरार अभियुक्तको सुचीमा राखेको थियो । तिनै मध्येका एक हुन्, हरिशरण खड्का ।

दुबईबाट अवैध रुपमा नेपाल सुन पठाउने मध्ये ५ जना नेपाली सक्रिय रहेको र त्यसमध्ये एक जना हरिशरण नै रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । ब्युरोको अनुसार काभ्रे चलाल गणेशस्थान ६ का हरिशरण खड्का पछिल्ला केही वर्षयता दुबईमा बसेर गुप्तलाल भुषालसँगै कारोबार गरिरहेका छन् । ३३ केजी सुन तस्करीका मुख्य मालिकमध्ये हरिशरण पनि एक रहेको ब्युरोको निष्कर्ष छ ।

सामान्य किसान परिवारका खड्काको पछिल्लो समयमा उक्लिदो आर्थिक ग्राफ उनका छिमेकी र नातेदार समेत जिब्रो काट्छन् । ब्युरोले गरेको अनुसन्धानले खड्काको एभरेष्ट बैंकको खातामा मात्रै ६७ लाख २९ हजार ६ सय ६४ मौज्दात देखाएका छ ।

दुबईमा बसेर सुन तस्करीमा संग्लन रहेको खड्काले चलाल गणेस्थानका कैयन युवालाई कामका निम्ती दुबई पठाएका देखिन्छन् । खड्काका छिमेकीका अनुसार नेपाल आउने तयारीमा रहेको खड्का सुन बरामदीको घटनापछि पक्राउ परिने डरले नेपाल आएनन् । यही बिचमा आमाको मृत्यु भएपनि खड्का नेपाल नआई दुबई नै बसे ।

(कान्तिपुर दैनिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here