ram bahadur thapa

काठमाडौं— २१, माघ ।

गृहमन्त्री रामबहादुर थापाले वर्तमान अवस्थामा सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताउनुभएको छ । महाभारत गाउँपालिकास्थित नेपाल तामाङ घेदुङले सोनाम ल्होछारका अवसरमा आज बनखुमा आयोजना गरेको बृहत् साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले ‘देशीविदेशी शक्ति अस्थिरता बढाउन क्रियाशील भइरहेकाले’ केन्द्रीय सरकारले सुरक्षा व्यवस्था कडा पार्न योजना अपनाउने जानकारी दिनुभयो ।

गृहमन्त्री थापाले देशीविदेशी शक्ति पुरानै व्यवस्थालाई ब्युँताउन तल्लीन देखिएका छन् भन्दै वर्तमान सरकार सजग रहने बताउनुभयो । “विकास रोक्ने र पुरानै व्यवस्था ब्युँताउनका लागि केही तत्व शान्ति खलबल्याउन लागेका छन्, त्यसलाई नियन्त्रण र निस्तेज पार्न केन्द्रीय सरकारले पनि सुरक्षा रणनीति अपनाउन लागेको हो ”, उहाँले भन्नुभयो ।

गृहमन्त्रीले देशका ७५३ वटै स्थानीय तहमा इलाकास्तरीय प्रहरी कार्यालय स्थापना गर्ने योजना रहेको पनि बताउनुभयो । “देशका सबै स्थानीय तहमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिएका छौँ ”, उहाँले थप्नुभयो ।
गृहमन्त्री थापाले संविधानमा सबै जातजातिको राजनीतिक र सांस्कृतिक अधिकार सुनिश्चित भइसकेको बताउँदै अब त्यस अधिकारलाई कार्यान्वयन गरी पूर्णता दिन बाँकी रहेको धारणा व्यक्त गर्नुभयो ।

गृहमन्त्रीले आजै महाभारत गाउँपालिकास्थित क्षेत्रीय प्रशासन कार्यालयको निरीक्षण गरी राहदानी पनि त्यहीँबाट दिलाउने व्यवस्था मिलाइने बताउनुभयो । यस क्षेत्रीय कार्यालयबाट गत जेठ पहिलो सातादेखि नागरिकता प्रदान गरिँदै आएको छ ।

कार्यक्रममा संघीय सांसद नवीना लामा, प्रदेशसभा सदस्य रत्न ढकाल, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बालगायतले ल्हाछार पर्व तामाङको मात्र नभई सबै नेपालीको भएकाले भाइचारा र सहिष्णुता अपनाउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा गायक विश्व दोङलगायत कलाकारले विभिन्न साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।
(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here