काठमाडौैं । श्रीकृष्ण महाष्टमीको अवसर पारेर गायक हरिबहादुर राउत तथा गायिका कोपिला तामाङको स्वरमा दोहोरी शैलीको ‘नरोउ राधा सम्झेर मलाई’ श्रीकृष्ण भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हरि बहादुर राउतको प्रस्तुतिमा गोल्डेन हार्ट पिक्चर्सले निर्माण गरेको उक्त भजनको म्युजिक भिडियोमा अभिनेता अभिषेक श्रेष्ठले कृष्ण तथा संगम विष्टले राधाको भूमिका निर्वाह गरेका छन् । उनीहरुको जोडी निकै लोभलाग्दो देखिन्छ ।
यो गीतमा विदुर तिमिल्सिनाको भजन अवधारण छ भने शब्दहरु प्रकाश सापकोटा तथा विदुर तिमिल्सिनाले रचना गरेका हुन् । माधव केसी यो गीतका संगीतकार हुन् ।
गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशनको यो भिडियोमा अभिषेक र संगमसंगै बाल कलाकारहरु आशुतोष न्यौपाने, इरा भट्टराई तथा आहाना मल्लले अभिनय गरेका छन् । दिनेश पराजुली यो गीतको भिडियोका छायांकार हुन् ।
भिडियोमा राधाको भूमिका निर्वाह गर्दै आकर्षक नृत्य गर्ने कलाकार संगम विष्ट अभिनेता गजित विष्टकी छोरी हुन् । साढे दुई वर्षको उमेरदेखि नै अभिनय गर्न थालेकी संगमले सर्वप्रथम कान्तिपुर टेलिभिजनको अराउण्ड द वल्र्डमा अभिनय गरेकी थिइन् । तीन वर्षको उमेरमा ‘उपकार’ शीर्षकको टेलिश्रृंखलामा अभिनय गरेकी संगमले साढे चार वर्षको उमेरमा नेशनल डान्स कम्पिटिसन जितेकी थिइन् ।
पाँच वर्षको उमेरमा गायिका कुन्ति मोक्तानको ‘आमाले माया गरी किनिदिएको’ गीतमा अभिनय गरेकी संगमले त्यसयता अपहरण, जय शिव शंकर, श्रीमान्, वरदान, लभ यू बाबा आदि फिल्ममा बाल कलाकारको रुपमा अभिनय गरेकी छिन् ।
संगमले ‘लभ यू बाबा’ फिल्मबाट नेशनल अवार्डसमेत जित्न सफल भएकी छिन् । उनले धुर्मुस सुन्तलीले निर्माण गरेको विज्ञापन देखि लिएर थुप्रै विज्ञापन तथा डकुमेंट्रीहरुमा समेत अभिनय कौशलता देखाईसकेकी छिन ।
