कञ्चनपुर — १४, माघ ।
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त र उनकी आमा दुर्गा पन्तको डिएनए म्याच भएको छ । निर्मलाकी आमाले २५ पुसमा डिएनए म्याचका लागि रगत दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिंह कडायतले निर्मलाकाे ‘भजाइनल स्वाब’ सँग उनकी आमाको डिएनए म्याच भएको बताए ।
उनका अनुसार निर्मलाकी आमा दुर्गाबाट संकलन गरिएको नमूना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको थियो ।
मृतक निर्मलाको योनीबाट निकालिएको ‘भजाइनल स्वाब’ निर्मलाकै हो वा होइन भन्ने कुरा उठेपछि उनकी आमाले डिएनए म्याचका लागि रगत दिएकी थिइन् ।
सोमबार प्रयोगशालाबाट डिएनए टेस्टको रिपोर्ट आएको हो । एसपी कडायतले प्रहरीप्रति यसअघि गरिएको शंका अब भने दुर भएको बताए । कडायतका अनुसार ‘भजाइनल स्वाब’ निर्मलाको योनीबाट निकालिएको हो वा होइन भन्ने यकिन गर्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुर्गाले लिखित निवेदन समेत दिएकी थिइन् ।
बलात्कारपछि हत्या गरिएकी निर्मलाको योनीबाट संकलन गरिएको ‘भेजाईजल स्वाब’प्रति नै संका उपशंका उब्जन थालेपछि परिवार र अधिकारकर्मीले निर्मलाकै स्वाब हो, या होईन निर्क्यौल गर्न पटक पटक माग राख्दै आएका थिए ।
२५ पुसमा दोस्रो पटक महेन्द्रनगर पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सामु समेत अधिकारकर्मी मिना भण्डारी लगायतले निर्मलाको स्वाव हो या होईन निर्क्यौल गर्नका लागि आमा बाबु दुवैको रगत नमुना संकलन गर्नुपर्ने माग राखेका थिए ।
अधिकारकर्मीकै माग अनुसार प्रहरीले निर्मलाका आमा–बुवा दुवैको रगत नमुना संकलन गर्नका लागि प्रयास गरेपनि बुबा यज्ञराज पन्तले भने रगत दिन नमानेपछि प्रहरीले निर्मलाकी आमा दुर्गादेवि पन्तको मात्रै रगतको नमुना लिए्र परिक्षणको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाएको थियो ।