माघ—८, काठमाडौं ।
विगत १४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा विधेयक ल्याउन सांसदहरुलाई आग्रह गरेका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा. केसीले त्यहीँबाट मंगलबार एक भिडियो सन्देश जारी गर्दै माफियामुखी ऐन ल्याउन नदिन सांसदहरुलाई आग्रह गरेका छन् ।
डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन आग्रह गर्दै आफूसँग सरकारले गरेको सहमतिअनुसार ऐन पारित गर्न अपिल समेत गरेका छन् ।
अनशनरत डा. केसीलाई उनको स्वास्थ्यमा केही सुधार देखिएपछि आइतबार आइसीयुकक्षबाट जनरल वार्डमा सारिएको थियो ।
सोमबारदेखि डा. केसीलाई गणेशमान सिंह नाक, कान, घाँटी भवनमा सारिएको छ ।
उनी विगतमा समेत यही भवनमा अनशन बसेका थिए ।