प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउन नेपाली जनतामा अनुरोध गरेका छन् ।

हामीहरुकै असावधानी र हेलचेक्र्याइका कारण कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको भन्दै यसबाट बच्न सबै जनता सजग र सचेत हुनुपर्ने उनले बताएका हुन् ।

आज सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्न सावधानी अपनाउँदा आतंकित नहुन पनि अपिल गरेका छन् । सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न तथा कोरोना संक्रमणलाई हेलचेक्र्याइ नगर्न पनि सर्वसाधारणमा आग्रह गरेका छन् । कोरोना नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग गर्न आम नागरिसँग उनले अपिल गरेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले निजी अस्पतालहरुले शय्या लुकाएको भेटिए तत्काल कारवाही गरिने पनि बताएका छन् । सम्बोधनका क्रममा उनले कोरोना संक्रमितको उपचारमा सहजता ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको बताउँदै अस्पतालहरुले बेड लुकाएको भेटिए कानूनअनुसार कारवाही गरिने बताएका हुन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने प्रधानमन्त्रीले बताएका छन् । स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिँदै उनले नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने बताएका हुन् ।

कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरे । अहिले लागू गरिएको निषेधाज्ञालाई कडाइ गरिने बताउँदै प्रधानमन्त्रीले निषेधाज्ञाको कारण कसैलाई भोकै हुन नदिने आश्वासन समेत दिएका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सरकारले चीन र रुससँग खोप खरिद प्रक्रिया सुरु गरेको जानकारी दिँदै कोभ्याक्स सुविधामार्फत खोप ल्याउन सरकार प्रयत्नशील रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here