काठमाडौं, पुस-३० ।
तत्कालीन राजा वीरेन्द्र शाहले ४४ वर्षअघि बढाएको शान्ति क्षेत्र नेपालको प्रस्तावलाई नयाँ शक्ति पार्टी नेपालले दोहोर्याएको छ ।
नयाँ शक्ति पार्टीले सोमबार राजधानीमा गरेको कार्यक्रममा सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाललाई अन्तर्राष्ट्रिय खिचातानीबाट जोगाउन शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउनुपर्ने बताए ।
राजा वीरेन्द्रको पालामा लोकतन्त्रको अभावमा प्रस्ताव सफल नभएको भन्दै उनले राष्ट्रिय हीतका लागि शान्ति क्षेत्र आवश्यक रहेको बताए ।
भारत, चीन र अमेरिकासित अब देशको हीत र स्वार्थअनुसार सम्बन्ध सुधार्नुपर्ने भन्दै डा. भट्टराईले कसैसँग बढी नजिक हुन नहुने बताए ।
यी तीनओटा शक्ति देशहरुको रणनीतिमा नेपाल रहेकाले नेपालले सम्भावना र अवसरलाई सदुपयोग गर्नुपर्ने उनले उल्लेख गरे ।
सन् २०५० सम्ममा चीन विश्व शक्ति राष्ट्र हुने भएकाले अमेरिका भारतलाई आफ्नो साथमा लिएर चीन घेर्ने रणनीतिमा लागेको उनको दाबी थियो ।
(ईमेज खबर)