काठमाडौँ । मंगलबार ११ बजेका लागि बोलाइएको संघीय संसद अन्र्तगतको विकास समितिको बैठक सांसदहरुको कोरम नपुग्दा स्थगित भएको छ । बैठक स्थगित भएपछि सहभागि हुन आएका केही सांसदहरु सिंहदरवारभित्रै घाम तापेर बसेका छन् ।
समितिको बैठक बस्न ५१ प्रतिशत सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, मंगलबार निर्धारित समयभन्दा एक घण्टा ढिलो अर्थात् १२ बजेसम्म पनि ११ जना सांसदमात्रै आइपुगेका थिए । त्यसपछि बैठक अनिश्चितकालाका लागि स्थगित गरेको समितिका सभापति कल्याणी खड्काले घोषणा गरिन् । २६ सदस्यीय सो समितिमा १४ सांसद भए मात्रै बैठक बस्न मिल्छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार समितिमा मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका काम कारवाहीबारे जानकारी लिन प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई बोलाएको थियो । प्राधिकरणले पुनर्निर्माणमा भइरहेको जानकारी दिन समितिमा प्रजेक्टरमार्फत तयारी गरेपनि कोरम नपुगेर बैठक नबसेपछि ज्ञवालीसहितका प्राधिकरण कर्मचारी फर्किएका थिए ।
सांसद गणेश पहाडीले धेरै सांसदहरु जिल्लामा भएकाले बैठकमा उपस्थित हुन नसक्दा कोरम नपुगेको बताए । सो समितिमा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र शेरबहादुर देउवासमेत सदस्य रहेका छन् । समितिको १२ औँ बैठक बस्दासम्म बैठकमा खनाल एक पटक सहभागि भएपनि देउवा भने एकपटक पनि उपस्थित भएका छैनन् ।
बैठक स्थगित भएको घोषणापछि आइपुगेका सांसद अनिल झा र लिला श्रेष्ठलाई समिति सभापति खड्काले समयसीमाबारे ख्याल गर्न ध्यानाकर्षण गराएकी छिन् ।