काठमाडौं, पुस- २७ ।
ठमेल र दरबारमार्गका विभिन्न होटल रेष्टुरेण्टहरुमा ‘डिएसपी हुँ’ भन्दै परिचय पत्र देखाएर आतंक मच्चाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा छुटेका ३५ वर्षीय अनिल थापा रहेका छन् ।
भक्तपुरको बालकोट स्थायी घर भएका थापाले नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै भीम किरण बोगटीको नाममा जारी भएको परिचय पत्र देखाउदै आपराधिक गतिविधी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
विगत १४ दिनदेखि कमलादीस्थित तिरुपती होटलको रुम नम्बर २०३ मा बसेर धाक–रवाफ देखाई विभिन्न आपराधिक गतिविधी संलग्न रहदै आएका ‘नक्कली डिएसपी’ थापालाई काठमाडौं प्रहरीको विशेष टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
२०६९ सालमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा मात्र छुटेका अनिल थापाबारे सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर विस्तृत अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
