काठमाडौं, पुस-२५ ।
प्रतिनिधिसभाको बैठकले ‘जीवनासक विषादी व्यवस्थापन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको बुधबारको बैठकमा सो प्रस्ताव प्रस्तुत् गरेका थिए ।
मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताए ।
प्रस्तावमाथि नवराज सिलवाल, सञ्जयकुमार गौतम, नारायणप्रसाद खतिवडाले जिज्ञासा राख्नुका साथै थप गर्नुपर्ने व्यवस्थाकाबारेमा सुझाव दिएका थिए ।
बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेस गरेकी थिइन् ।
‘नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई प्रस्तुत् गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत् गरेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ प्रस्तुत् गरेका थिए ।
साथै, बैठकले कानुनमन्त्री ढकालले प्रस्तुत् गरेको ‘प्रशासकीय अदालत विधेयक, २०७५’ र ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको थियो ।
बैठकमा सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहेका कैलालीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीलाई यही पुस १९ गते शपथ गराएको र शपथपछि पुनः थुनामा रहेको जानकारी गराए ।
साथै, सभामुख महराले नियमानुसार चौधरीले हाल सांसदको कुनैपनि कार्य गर्न तथा सेवा–सुविधा नपाउनेबारेमा सदनलाई स्पस्ट पारे ।
प्रतिनिधिसभाको अर्काे बैठक यही पुस २९ गते मध्याह्न १२ बजे बस्नेछ ।
रासस