प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई संसदले काम गर्न नदिएपछि संसद विघटन गरेको बताएका छन्। काठमाडौँस्थित नारायहिटी दरबार संग्रहालयको आँगनमा भएको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटनबारे बोलेका हुन्।
सभामा बोल्दै उनले नेपालमा लोकतन्त्रको भविष्य उज्ज्वल भएको बताएका छन्। उनले देशमा लोकतन्त्र सुदृढ भएको बताउँदै उनले भनेका छन्, ‘लोकतन्त्रमाथि कसैले कर्के नजर नलगाए हुन्छ।’ यति छिटो देश विकास कुनै सरकारले नगरेको प्रधानमन्त्री ओलीले बताए। ‘अहिलेको जस्तो काठमाडौँ पहिला कहिल्यै थियो?’ उनले प्रश्न गरेका छन्।
कोरोना भाइरसविरुद्घ लड्ने सबै सेना, प्रहरी, डाक्टरहरूलगायत सबैलाई उनले सलाम गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहासमै आजसम्म सबैभन्दा राम्रो स्वास्थ्य सेवा जनताले आफ्नै सरकारको पालामा पाएको ठोकुवा गरे। ओलीले आफ्नो सरकारले नै लोडसेडिङ अन्त्य गरेको दाबी गर्दै अझै ठूलो विद्युतीय आयोजनाको काम भइरहेको बताए।
त्यस्तै, निर्वाचन आयोगमा गएर प्रचण्ड-माधव समूहले निर्वाचनको तयारी नगर्नु भनेर दबाव दिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको केही अर्थ नरहेको टिप्पणी गरे। ओलीले भने, ‘काम गर्ने अवस्था नभएपछि मैले नेपाली जनताको ताजा जनादेश लिन संसद विघटन गरेँ। देश चुनावतर्फ गयो–गयो, अब चुनावले फैसला गर्छ।’
