नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वाणिज्य बैंकसहित पाँच कम्पनीहरुलाई ऋणपत्र विक्री गर्न अनुमति दिएको छ । प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, एनसीसी बैंक, मञ्जुश्री फाइनान्स र कामना सेवा विकास बैंकले ऋणपत्र विक्री गर्न बोर्डको अनुमति पाएका हुन् ।
बोर्डले मञ्जुश्री फाइनान्सलाई ८ वर्षे अवधिको वार्षिक ९ दशमलव ५ प्रतिशत व्याजदरको ५ लाख कित्ता ऋणपत्र विक्री गर्न पुस २६ गते अनुमति दिएको हो । कुल कित्तामध्य कम्पनीले ३ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र २ लाख कित्ता परिपत्र विधिमात्र विक्री गर्नेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्राइम बैंकलाई पनि पुस २६ गतेनै बोर्डले ८ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत व्याजदर रहेको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति दिएको हो । बैंकले कुल कित्तामध्य २१ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र १४ लाख कित्ता परिपत्र विधिबाट विक्री गर्नेछ । प्राइमको ऋणपत्र विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग रहेको छ ।
त्यस्तै , कामना सेवा विकास बैंकले १० लाख कित्ता ऋणपत्र १० वर्षे अवधिमा परिपक्क हुने गरी विक्री गर्न माघ २ गते अनुमति पाएको छ । यस बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरको कुल कित्ता ऋणपत्र मध्य ६ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र ४ लाख कित्ता परिपत्र विधिबाट व्यक्तिगत तवरले विक्री गर्नेछ । कामना सेवाको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलनै रहेको छ ।
कृषि विकास बैंकलाई पनि ७ वर्षे अवधिको ४ प्रतिशत व्याजदरमा ६० लाख कित्ता ऋणपत्र विक्रीको बाटो खुला भएको छ । कुल कित्तामध्य ३६ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न र २४ लाख कित्ता परिपत्र विधिमार्फत विक्री गर्न बोर्डले बैंकलाई माघ ४ थतृ अनुमति दिएको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा पनि एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
एनसीसी बैंकले ३० लाख कित्ता ऋणपत्र विक्री गर्न माघ ५ गते बोर्डको स्वीकृति पाएको छ । १० वर्षे अवधिको यो ऋणपत्र वार्षिक ९ दशमलव ५ प्रतिशत व्याज दिने गरी बैंकले जारी गर्नेछ । कुल कित्तामध्य १८ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता विभिन्न संघसंस्थाका लागि छुट्याईएको छ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
