काठमाडौं, पुस– २३ ।
सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
सोमबार बिहान ११ः४५ बजे चक्रपथ हुँदै बौद्ध–जोरपाटी चल्ने बा१ज ९७६६ नम्बरको माइक्रोको ठक्करबाट धूम्रबाराही बस्ने ५५ वर्षीया सीता दाहालको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जेजंग कार्कीले बाटो काट्नेक्रममा ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारकाक्रममा अल नेपाल अस्पताल सामाखुसीमा मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा कोटेश्वर बस्ने सरिता अधिकारी, उनका श्रीमान् सुशील अधिकारी, अल नेपाल अस्पतालमा कार्यरत् नर्स सपना राई र लक्ष्मी सापकोटा घाइते भएका छन् । घाइतेमध्ये सापकोटा गम्भीर भएको कार्कीले बताए ।
दुर्घटना गराउने माइक्रोबस र त्यसका चालक रामेछापका ४० वर्षीय टंकराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस