काठमाडौं, पुस– २३ ।

बैतडीसहित सुदूरपश्चिमको अधिकांश पहाडी जिल्लामा गएराति देखि हिमपात सुरु भएको छ ।

बैतडी जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्चपहाडि क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।

बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे बझाङ क्षेत्रमा पनि हिमपात भएको छ ।

त्यसैगरी दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङ्कर लगायतका स्थानमा समेत हिमपात भएको छ ।

डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टेलगायतका ठाउँमा पनि हिमपात भएको हो । हिमपात सँगै पहाडी जिल्लामा चिसोका कारण जनजीवन धेरै प्रभावित भएको छ ।

हिमपातले गहुँलगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने भएकाले लामोसमयको खडेरीपछि हिमपात हुँदा किसानहरु भने खुसी भएका छन् ।

हिमपातका कारण हिमाली जिल्ला हुम्लाको जनजीवन धेरै नै प्रभावित बनेको छ ।

हिमपातले हुम्ला सदरमुकाम सिमिकोटदेखि माथिको तापक्रम माइनस १५ डिग्री सेल्सियस भन्दा तल झरेपछि स्थानीयवासी लाई घरबाहिर निस्कन समेत समस्या भएको हुँदा जनजीवन ज्यादै कष्टकर भएको छ ।

हिमपातका कारण सिमिकोकोटमा झन्डै एक फिट हिउँ जमेको छ भने सिमिकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा भने दुई फिटसम्म हिउँ जमेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here