नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ । नेप्सेमा कारोबार पछि उत्पन्न भएका तथ्याङ्क, धितोपत्र मूल्यमा प्रभाव पार्ने सुचना तथा समितिले समय समयमा वितरण योग्य भनि तोकिएको तथ्याङ्क प्रयोगका लागि नेप्सेले कार्यविधि बनाएर लागू गरेको हो ।
यो कार्यविधि पुस १ गतेदेखिनै लागू भएको नेप्सेको भनाई छ । कार्यविधि लागू भएसँगै अव नेप्सेको तथ्याङ्क व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नका लागि तोकिएको शूल्क तिर्नुपर्ने भएको छ । इन्भेष्टमेण्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यमका साथै गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाहरुले नेप्सेको तथ्याङ्क प्राप्त गर्न सक्नेछन् । तर त्यसका लागि नेप्सेलाई प्रतिमहिना शुल्क तिर्नुपर्ने हुन्छ ।
नेप्सेको कुनै पनि तथ्याङ्क प्रयोगकर्ताले नेप्से समक्ष स्पष्ट उदेश्य समेत खुलाई सम्झौता गर्नुपर्नेछ । नियामक वा अनुसन्धान निकायहरुबाट माग भई आएका तथ्याङ्क भने निशुल्क उपलब्ध गराइने नेप्सेको भनाई छ ।
प्रयोगकर्ताहरुले अनाधिकृत रुपमा तथ्याङ्क प्रयोग गरेको पाईएमा नेप्सेले उक्त प्रयोगकर्ताको सेवा अवरुद्ध समेत गर्नेछ । साथै तथ्याङ्कको अनाधिकृत प्रयोगले क्षति हुन गएमा नेप्से समितिले तोके बमोजिमको जरिवाना पनि भराउन सक्ने व्यवस्था कार्यविधिमा छ ।
