बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

संघीय संसदकाे अधिवेशन पुस १७ बाट शुरू गर्ने तयारी

मंसिर ५ काठमाडौं । संघीय संसद् सचिवालयले अगामी पुस १७ गते देखी हिउँदे अधिवेशन शुरु गर्ने तयारी गरेको छ । एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान अनुसार पुस १७ भित्र हिउँदे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएपछि सचिवालयले अधिवेशनको तयारी गरेको होे ।

संवैधानिक सीमाको ख्याल गरेर सचिवालयका तर्फबाट आन्तरिक तयारी भइरहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो । अधिवेशनको प्रारम्भ भने मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट बैठक आह्वान भएपछि बैठक बस्ने प्रचलन छ । संघीय संसद् सचिवालयले स्वास्थ्य मापदण्ड अनुसार चिकित्सकको सल्लाहमा बैठक कक्ष नियमित सफाइ गर्ने, आवश्यक केमिकलको प्रयोगबाट बैठक प्रारम्भअघि सफाइ गर्ने जनाएको छ ।

यस्तै बैठकको प्रवेश विन्दुमा ज्वरो नाप्ने तथा हाजिर कक्षसमेत थप व्यवस्थित बनाउने तयारीमा सचिवालय जुटेको छ । वार्षिक बजेट तथा संविधान संशोधन विधेयक पारित भएपछि असार १८ गते अधिवेशन अन्त्य गरिएको थियो । उक्त समय सीमा अनुसार ढिलामा पनि अब पुस १७ भित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्नेछ ।

बजेट अधिवेशन लामो समय नचल्दा कतिपय महत्वपूर्ण विधेयक समेत लामो समयदेखि संसद्मा विचाराधीन छन् । हिउँदे अधिवेशन विधेयक अधिवेशनका रूपमा समेत चलाइने प्रचलन रहेकाले महत्वपूर्ण विधेयक पारित हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *