काठमाडौं, पुस- १७ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगकाअनुसार जग्गा दाखिला खारेज गर्दा नियमानुसार लाग्ने दस्तुर सनिश मिश्रको नाममा काटेको तर राजश्व खातामा भने जम्मा नगरी रु पाँच लाख ६८ हजार २०८ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।
एकै आर्थिक वर्षमा एउटै नम्बरको फरक–फरक रसिद भेटिएको छ ।
बस्नेतले काटेको रसिद नम्बर २१९७४ वि.सं. २०७३ असार २६ र वि.सं. २०७२ फागुन १६ गतेको रसिद एउटै देखिएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।
एउटै रसिद काटी राजश्वमा दाखिला गर्नुपर्ने रकमसमेत उपलब्ध नगराएकाले बिगो असुल गरी कारबाहीको माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
रासस