मंसिर १ काठमाडौं । हङकङमा एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा नेपालीनै रहेका छन्।प्रारम्भिक जानकारी अनुसार मृतकहरू नेपालको बाग्लुङ जिल्लाका रहेको बताइएको छ।
स्थानीय समयानुसार आइतबार साँझ हङकङको याउमातेईस्थित रेस्टुरेन्टमा आगलागी भएको हो। मृतकमा ९ बर्षीया बालिका देखी ४० बर्ष उमेर समहुका छन्।
आगलागीमा अन्य १० जना गम्भीर घाइते छन्। जन्मदिन मनाउने क्रममा यो दुःखद दुर्घटना भएको बताइएको छ।
नेपाली दूतावासले जन्मदिन वा दिपावलीको रमझमको बेलामा चुरोट वा मैनबत्तीको आगो सिलिङमा सल्किएपछि आगलागी भएको हुनसक्ने बताएको छ।
आगलागी भएको रेस्टुरेन्ट ४ वर्षअघि दर्ता नभएर चलिरहेको र नेपालीहरू भेला हुने अनौपचारिक थलोजस्तो बनेको थियो।
सो रेस्टुरेन्टमा मानिस निस्किने एउटा मात्रै ढोका भएकाले उद्धारमा ढिलाइ भएको बताइएको छ।
तिहारको बेला भएको यो ठूलो दुखद घटनाले हङकङका नेपाली स्तब्ध भएका छन्।
घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो।
हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको त्यहाँको प्रहरीले जनाएको छ।
आगलागीबाट जोगिन एक जना पुरुष राती करिब ८ बजेर ३५ मिनेटमा झ्यालबाट चिच्याउँदै भाग्दै गर्दा खसेर घाइते भएका थिए।
अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।
