रुपन्देही, पुस-१६ ।
क्षमता भन्दा बढी सामान बोक्ने मालवाहक भारतीय सवारीसाधनलाई रुपन्देही प्रहरीले सीमा नाकामा रोकेको छ ।
ओभरलोड गरिएको गाडीलाई यातायात व्यवस्था विभागले नियन्त्रण गर्न नेपालभरका ट्राफिक प्रहरीलाई पत्राचार गरेपछि रुपन्देही प्रहरीले भारतीय ओभरलोड गाडीहरुलाई रोकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बेलहिया नाकामा हालसम्म औद्योगिक कच्चा पदार्थ बोकेका ३० भन्दा बढी ओभरलोड गरिएको गाडीहरु रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बेद पौडेलले जनाए ।
गृह मन्त्रालयले गरेको पछिल्लो निर्णय अनुसार औद्योगिक कच्चा पदार्थ बोकेका भारतीय ओभरलोड गरिएको गाडीहरुलाई नाकादेखि बढीमा १५ किलोमिटरसम्म जान छुट दिइएको थियो ।
१५ किलोमिटरको नाममा भारतीय ओभरलोड गरिएका गाडीहरु कपिलवस्तु र नवलपरासी जिल्लाका उद्योगहरुसम्म समेत पुग्ने गरेका थिए ।
यता, यातायात व्यवस्था विभागको पत्रलाई प्रहरीले कार्यान्वयनमा ल्याएर भारतीय ओभरलोडका गरिएका गाडीहरु रोक्न थालेपछि यातायात व्यवसायी भने बिरोधमा उत्रिएका छन् ।