अर्घाखाँची, पुस- १६ ।
अर्घाखाँची जिल्लाका कृषकहरु कफी खेतीमा आकर्षित हुन थालेका छन् ।
कफी बजारको सुनिश्चितता, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि कृषकहरु यसतर्फ आकर्षित हुन थालेका लागेका हुन् ।
अर्घाखाँची जिल्लाको कफीले विश्वमै उत्कृष्ट ब्रान्ड पाएको भएतापनि पछिल्लो पाँच वर्षदेखि रोग किराको प्रकोप देखिएपछि उत्पादनमा कमी आएको थियो । तर, गत बर्षदेखि कफीमा लाग्ने किरा नियन्त्रणमा आएसँगै कृषक फेरि यसतर्फ आकर्षित भएका देखिन्छन् ।
विश्वमा नेपालको कफी उत्कृष्ट भएर माग बढ्दै गएकाले कफी खेतीलाई व्यवस्थित बनाएर उत्पादनमा वृद्धि गर्न तर्फ लागेको कृषकहरु बताउछन् । अर्घाखाँची जिल्लामा एक सय हेक्टर भन्दा बढी जमिनमा कफी खेती हुँदै आएको छ ।
अर्घाखाँचीमा उत्पादन भएको कफी जापान, कोरिया, अमेरीकालगायतका देशमा निर्यात हुने गरेको छ ।