काठमाडौं, पुस- १५।
नेपालमा विदेशी लगानी भित्र्याएर लगानीकर्तालाई ठगी गरेको अभियोगमा पक्राउ परेका वेभ सर्वरका संचालकमाथि ३२ करोड मागदाबी सहित मुद्दा चल्ने भएको छ।
काठमाडौं प्रहरी परिसरले अभियुक्त सुरेन्द्र क्षेत्री विरुद्ध ३२ करोडको मागदाबीसहित मुद्दा चलाउने तयारी गरिरहेको जनाएको छ।
क्षेत्री ठगी गरेको अभियोगमा पक्राउ परे पनि उनका दाजुहरु सुमन क्षेत्री र शैलेन्द्र क्षेत्री फरार अझैसम्म फरार छन्।
वेलायतका दिनेश विमलनाथनसँग नेपालको इन्टरनेट र आइटीमा लगानी गर्ने भन्दै १७ वर्ष अघि क्षेत्री दाजुभाइले साढे २ करोड रकम नेपाल भित्र्याएका थिए।
क्षेत्री दाजुभाइले विमलनाथनलाई सेयरको नक्कली प्रमाणपत्र समेत दिएका थिए। उनीहरुले विमलनाथनसंगै मलेसियन नागरिक शशिधरणको ६ करोड रकम समेत नेपाल भित्र्याएका थिए। मलेसियन नागरिक समेत आफू ठगिए थाह पाएपछि प्रहरीमा पुगेका थिए।
क्षेत्री दाजुभाइको मुद्दा उच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ। विमलनाथनले ६ महिनाअघि आफू ठगिएको भन्दै काठमाडौं प्रहरी परिसरमा उजुरी दिएपछि उनिसंग भएको छलफलमा क्षेत्री दाजुभाइले कम्पनी बेच्ने र रकम बाँडफाँड गर्ने बताएका थिए। उनिहरुले ३ महिनाभित्र सबै काम सक्ने भनिएतापनि पछि क्षेत्री दाजुभाइ सम्पर्कमा नआएपछि विमलनाथन फेरि प्रहरीमा उजुरी दर्ता गर्न पुगेका थिए।