बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

हेटौंडा औद्योगिक क्षेत्रको ७५ प्रतिशतभन्दा बढी उद्योग गुणस्तर तथा नापतौलको कारबाहीमा

 हेटौंडास्थित औद्योगिक क्षेत्रमा रहेको ७५ प्रतिशतभन्दा बढी उद्योगले गुणस्तर तथा नापतौल विभागअन्र्तगतको निकायबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमतिपत्र नलिएर सञ्चालन गरेको जनाएको छ । सो औद्योगिक क्षेत्रमा करीब १११ उद्योग रहेको तर, २५ वटा उद्योगले मात्र उत्पादन गरेको सामानको बिक्री वितरणका लागि नापतौल अनुमतिपत्र लिएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ ।

कार्यालय प्रमुख शशिभुषण यादवका अनुसार उद्योगहरूले नापतौल यन्त्रको जाँच गराएर कारोबारका लागि अनुमतिपत्र लिनुपर्छ । उनले कानूनी दायरामा नआउने उद्योगलाई नापतौल ऐन २०२५ अनुसार कारबाही गरिने बताए । पटकपटक जानकारी गराउँदा समेत अटेर गरेकाले अनुगमन गरी कारबाहीस्वरुप जरिवाना तथा मुद्दा दायर गर्ने उनको भनाइ छ ।

उपभोक्ता हितका लागि पनि नापतौल यन्त्रको कानूनी रुपमा जाँच आवश्यक रहेको छ । तौलमा ठगिने समस्या रहेको छ । हेटौंडा औद्यौगिक क्षेत्रमा चाउचाउ, बिस्कुट खाद्यान्न, मैदा, दुग्धपदार्थ, खानेपानी मिनरल वाटर, साबुन, सर्फ, पेन्टस तथा निर्माण सामग्रीलगायत अन्य उद्योगहरू सञ्चालमा रहेको बताइएको छ ।

बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन कार्य क्षेत्र रहेको सो क्षेत्रीय कार्यालयले चालू आर्थिक वर्षको कात्तिक १५ सम्ममा दुई दर्जन पेट्रोल पम्प तथा उद्योगको अनुगमन र निरीक्षण गरी नापतौल यन्त्रको जाँच तथा नवीकरण गरेको जनाएको छ ।

त्यस्तै कार्यालयले हेटौंडामा डोर खटाइ व्यावसायिक फर्महरुको नापतौल यन्त्रको दर्ता, नवीकरण, जाँच, जरिवाना र राजस्व संकलन शुरु गरेको छ । कार्यालयका सहायक निरीक्षक वीरेन्द्र उपाध्यायको नेतृत्वमा आएको चार कर्मचारीसहितको टोलीले तीन दिनमा ६० व्यवसायिक फर्मको नापतौल यन्त्रको नवीकरण गरेको छ । तोकिएको समयमा नवीकरण नगराउने ४५ व्यवसायिक फर्मलाई जरिवाना र तीनवटा फर्मको नयाँ दर्ता भएको उपाध्यायले जानकारी दिए ।

प्रत्येक दुई वर्षमा ढक तराजु र लिटर तथा डिजिटल इलेक्ट्रोनिक नापतौल यन्त्रको प्रमाणीकरण गराउनुपर्ने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *