कारिता (इन्डोनेसिया), पुस- १० ।
इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको संख्या ४२८ पुगेको छ ।
यस प्रकोपमा एक हजार २१ जना घाइते हुनुका साथै ७७ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिएका छन् ।
सो प्रकोपका कारण हजारौं स्थानीयवासी विस्थापित भएको पनि उनले जानकारी दिए ।
ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ ।
इन्डोनेसियाका सुन्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीका कारण मंगलबार बिहानसम्म ३९७ जनाको मृत्यु भएको पाइएको थियो ।
यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौं भवन ध्वस्त भएको प्रवक्ता सुटोपोले थप जानकारी दिए ।
खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने सुटोपोले बताए ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ ।
शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीहरुले ‘क्राकाटोआ’ नामकरण गरेका छन् ।
भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।
यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो ।
यसअघि, जुन, अगस्ट र सेप्टेम्बर महिनामा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।
रासस/एएफपी