काठमाडौं, पुस- १० ।
विश्वभर छरिएर रहेका इसाई धर्मावलम्बीहरुले आज क्रिसमस पर्व मनाउँदै छन् ।
नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् ।
क्रिसमसको अवसरमा चर्चमा प्रार्थना, नाचगान जस्ता विभिन्न कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ ।
क्रिसमसमा येशु ख्रीष्टको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने गरिन्छ ।
आजभन्दा करिव २ हजार १७ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको विश्वास गरिन्छ । कुमारी मारियमको कोखबाट येशु ख्रीष्टको जन्म भएको जन विश्वास रहदै आएको छ ।
येशु ख्रीष्टलाई जिसस क्राइष्ट पनि भन्ने गरिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको मानिन्छ ।
पछिल्ला दिनमा नेपालमा पनि यस धर्म अँगाल्नेको संख्या बढेको छ ।
२०६२/६३ सालपछि नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नुका साथै राज्यले क्रिसमस पर्वलाई येशु ख्रीष्टको जन्मदिवसका रुपमा मान्यता दिएको छ ।
अहिले नेपालमा १२ हजार चर्च र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।
नेपालमा २०६४ सालअघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस अहिले सार्वजनिक स्थलमा पनि मनाइने गरेको छ ।
धार्मिक सहिष्णुताको उदाहरणको रुपमा लिईने नेपालमा क्रिश्चियन मात्र नभएर अन्य धर्म अनुयायीहरुले समेत भातृत्व जनाउदै यो पर्वमा सरिक भएर रमाइरहेको देख्न पाईन्छ ।