सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी)ले म्याद गुज्रिएको (डेट एक्सपायर भएको) बटरबाट घिउ उत्पादन गरी बजारमा बिक्री गर्ने गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले मंगलबार गरेको बजार अनुगमनका क्रममा डीडीसीको बालाजु उत्पादन प्लान्टमा म्याद गुज्रिएको १ लाख ९४ हजार ९ सय ७५ किलोग्राम बटर भेटिएको हो । उक्त बटर डीडीसीले सुजल डेरी पोखराबाट खरिद गरेको थियो ।

अनुगमन टोलीका सदस्यका अनुसार डीडीसीको प्लान्टमा भेटिएको बटरको प्याकेटमा उत्पादित मितिले ८ महिना भित्रै उपभोग गरिसक्न भनिएको छ । तर, गोदाममा भेटिएको लगभग सबैजसो बटरमा सो मिति नाघिसकेको देखिएको बजार अनुगमन टोलीका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए ।
गोदाममा सन् २०१९ को नोभेम्बर र सन् २०२० को जनवरी महिनामा उत्पादित बटर भेटिएको अनुगमन समितिले जानकारी दिएको छ ।

अनुगमन समितिका अनुसार डीडीसीले उपभोग्य मिति सकिएको अवस्थामा पनि सुजल डेरीबाट बटर खरिद गरेको भेटिएको छ ।

डीडीसीले उपभोग्य मिति सकिएको बटरबाटै घिउ उत्पादन गरी बजारमा बिक्री गर्ने गरेको पनि भेटिएको छ ।

तर, डीडीसीको बालाजु प्लान्ट (आयोजना)का कर्मचारीले भने सुजल डेरीबाट किनेको बटरबाट गुणस्तर परीक्षण गरेर मात्रै घिउ बनाएर बिक्री गर्ने गरेको दाबी गरेका छन् ।

बटरलाई माननस २० डिग्री सेन्टिग्रेट तापक्रम निर्धारण गरी भण्डार गर्दा १८ महिनासम्म पनि बटरबाट घिउ बनाउन सकिने र त्यस्तो घिउ पनि गुणस्तरीय हुने डीडीसीको बालाजु आयोजनाका प्रमुख गोविन्द जोशीले अनुगमन टोलीसमक्ष दाबी गरेका छन् ।

अनुगमन टोलीले भने डीडीसीको प्लान्टमा भेटिएको बटरको नमूना संकलन गरी परीक्षणका लागि ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here