राजविराज, पुस २ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीमा सोमबार बिहान आगलागी हुँदा ६ घर जलेर करिव २० लाख मूल्य बराबरको क्षति भएको छ ।
विजयकुमार रायको गोठमा बालिएको घुरबाट सल्केको आगो फैलिएर उनको घर गोठ जलेर नष्ट हुनका साथै ४ वटा पशु चौपाया समेत जलेर मरेका छन ।
आगलागीबाट रायका छिमेकीहरु नागेश्वर राय, बब्लु भनिने किसुन राय, अजयकुमार राय, रामचन्द्र राय र अहिल्यदेवी रायको १/१ वटा घर तथा २२ वटा पशु चौपाया, अन्नपात, गरगहना, नगद, लत्ताकपडा, फर्निचर लगायतका सरसमान समेत जलेर नष्ट भएको प्रहरीले जनाए ।
आगलागी भएको ४ घण्टापछि वारुणयन्त्र, स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।