आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

बेल्जियम जाने भएपछि विमलले लिगका बाँकी खेल नखेल्ने भए

काठमाडौँ– नेपाली युवा फुटवल स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् ।

यही सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् ।

क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी गराए ।

यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्डरलेच्टबाट पनि खेलेका थिए भने स्पेनको मार्वेला युनाइटेडमा ट्रायल पनि दिएका थिए ।

जारी लिगका दुई खेल सकिँदासम्म विमलले एक गोल समेत गर्न सकेका छैनन् ।

यसै सिजन ‘ए’ डिभिजनमा उक्लिएको च्यासल युथ क्लबका लागि भने विमलको अनुस्थितिले केही समस्या पर्ने देखिन्छ ।

लिगमा दोस्रो चरणको खेल सकिँदा एक हार, एक बराबरी र एक अङ्कसहित च्यासल लिगको नवौँ स्थानमा रहेको छ ।

पहिलो खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा त्रिभुवन आर्मीसँग १–० ले पराजित भएको थियो ।

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा यसै वर्षदेखि मात्र खेलेका हुन् ।

विमललाई लिन अन्य क्लबहरूले प्रयास गरे पनि अन्तिममा च्यासल गएका थिए । चौध वर्षको उमेरमा बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान पाएपछि खेल्दै आएका विमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन् ।

उनले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए भने एन्फाको बुटवल एकेडेमीमा २०६७ सालमा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *