आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कम्पनीले अक्सिजन नदिँदा सरकारी अस्पताललाई समस्या

कोभिड–१९ का बिरामीको उपचार गर्दै बिरामीको भरोसाको केन्द्र बन्दै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा शय्या सञ्चालनमा समस्या परेको छ । अक्सिजन कम्पनीहरुले सरकारले तोकेको कोटा बराबर पनि अक्सिजन नदिंदा र अक्सिजनको खपत बढी हुँदा अस्पतालले निकै समस्या झेल्नु परेको बताइएको छ ।

अस्पतालले कोभिडका बिरामीका लागि ८० शय्या छुट्याए पनि अहिले ५० जना बिरामीको उपचार भइरहेको छ । अस्पतालका लागि दैनिक २०० सिलिण्डर अक्सिजन आवश्यकता भए पनि दैनिक ९० सिलिण्डर पाउन पनि मुश्किल परेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डन्ट डा. सुमित्रा गौतमले बताउनुभयो । भेन्टिलेटरमा रहेका बिरामीलाई तीब्र गतिमा अक्सिजन दिनुपर्दा एक बिरामीका लागि २४ घण्टामा पाँच सिलिण्डर अक्सिजन सकिने तर अक्सिजनको आपूर्ति भने कम हुँदा समस्या आएको अस्पतालको भनाइ छ ।

भक्तपुर अस्पतालका लागि सरकारले कान्तिपुर उद्योगसँग दैनिक ४०, सोपन उद्योगसँग दैनिक ३० र सगरमाथा उद्योगसँग दैनिक ५० सिलिण्डर अक्सिजन उपलब्ध गराउने गरी कोटा निर्धारण गरेपनि ती उद्योगले तोकेको भन्दा ५० प्रतिशत कम अक्सिजन उपलब्ध गराउने गरेका छन् । सगरमाथाले दुई दिन नदिएको र अधिकांशले अक्सिजन नै पुग्दैन भनेर कम दिने गरेका छन् । अस्पतालले विगतमा जनकपुर, निजगढ, ककनीदेखि पनि अक्सिजन ल्याएकामा अहिले ती ठाउँबाट पनि अक्सिजन आउन छाडेका छन् ।

निःशुल्क सेवा दिदै आएको सरकारी अस्पताललाई भन्दा निजी अस्पताललाई अक्सिजन उद्योगहरुले तोकिएको कोटाभन्दा बढी अक्सिजन दिने गरेको पाइएको छ । एक निजी अस्पतालका सञ्चालकले उद्योगहरुलाई बढी पैसा तिरेर अक्सिजन ल्याउने गरेको बताएका छन् । निजीले बढी पैसा दिने भएकाले अक्सिजन उद्योगहरुले सरकारीलाई भन्दा निजी अस्पताललाई निर्धारित कोटाभन्दा बढी अक्सिजन दिने गरेको निजी अस्पताल सञ्चालकहरुकै भनाइ छ ।

भक्तपुर अस्पतालकी मेसु डा गौतमले पनि सरकारीलाई भन्दा निजी अस्पताललाई अक्सिजन उद्योगहरुले प्राथमिकतामा राखेकाले नै सरकारी अस्पतालले सरकारले निर्धारण गरेको कोटा बराबर पनि अक्सिजन नपाएको बताउनुभयो । अहिले भक्तपुर अस्पतालमा ज्वरो र कोभिडको लक्षण भएकाहरुका लागि सञ्चालन गरेको ओपिडी सेवामा मात्रै दैनिक १७० देखि २०० सम्म बिरामी आउने गरेका छन् । ठाउँ अभाव, उपकरण अभावले अस्पतालले पर्याप्त आइसियू सञ्चालन गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *